जँड्याहाले जाँडको तालमा फोन गरेर ‘मलाई अपहरण गरियो’ भने, ६०० प्रहरीले रातभर खोजे
काठमाडौं। एक जना जँड्याहाले जाँडको तालमा भनेको कुराले ६ सय जना प्रहरीले रातभर परिश्रम गर्नुपरेको छ । ती व्यक्तिले नशाको तालमा आफ्नी श्रमितीलाई फोन गरेर आफूलाई अपहरण गरिएको बताएका थिए । भारतको महाराष्ट्रको नागपुरको हिंगना क्षेत्रका यी व्यक्तिले आफ्नी पत्नीलाई फोन गरेर केही व्यक्तिले आफूलाई अपहरण गरेको र मार्नको लागि अज्ञात स्थलतर्फ लिएर जाँदै गरेको बताएका थिए ।
उनले फोनमा यस्तो भनेपछि उनकी पत्नीले तत्काल पुलिसलाई फोन गरेर यसको जानकारी दिइन् । त्यसपछि पुलिस कैयौं घण्टासम्म ती व्यक्तिको खोजीमा जुट्यो । खोजीका क्रममा पुलिसले ती व्यक्तिले नशाको तालमा पत्नीलाई फोन गरेर अपहरणको झुटो कुरा बताएको थाहा पायो । मंगलबार राती पुलिसलाई दिनुसम्म दुःख दिएका यी व्यक्ति बुधबार बिहान आफ्नो घर पुगे । घर फर्किएका उनले आफ्ना साथीलाई आफू रक्सी पिएर कतै सुतेको बताएका छन् ।
समाचार एजेन्सी पीटीआइका अनुसार गुमगांव रोडका गजेन्द्र कोहरेले मंगलबार आधा रातमा आफ्नी पत्नीलाई फोन गरेका थिए । फोनमा उनले सडक दुर्घटना भएको र केही मानिसहरुले दुर्घटनाको लागि आफूलाई दोषी ठहर्याएको बताएका थिए । उनले पत्नीलाई ती मानिसहरुले आफूलाई मार्नको लागि ठूलो गाडीमा कुनै अज्ञात स्थलतिर लिएर जाँदै गरेको बताए । यति भनेपछि उनले आफ्नो फोन अफ गरिदिए ।
गजेन्द्रको कुराले डराएर उनकी पत्नीले तत्काल पुलिसलाई सम्पर्क गरेर सबै कुरा बताइन् । पुलिस पनि तत्काल अलर्ट भयो र उनको खोजीमा लाग्यो । पुलिसले आइपीसी आरा ३६५ (अपहरण)को केस दर्ता गरेर गजेन्द्रको फोनको पछिल्लो लोकेसन ट्रेस गर्न थाल्यो । डेप्युटी कमिश्नर तहका तीन जना अधिकारीको नेतृत्वमा ६०० जना पुलिसकर्मी रातभर यो अपरेशनमा जुटे तर उनीहरुले कुनै सुराग पाएनन् ।
बुधबार बिहान साढे ७ बजे गजेन्द्रले आफ्ना एक साथीलाई फोन गरे र आफू धेरै रक्सी पिएर कहीँ सुतेको बताए । त्यसपछि ती साथीले तत्कालै गजेन्द्रही पत्नीलाई यसको जानकारी दिए । पुलिसका अनुसार गजेन्द्र बिहान साढे ९ बजेतिर आफ्नो घर आएका थिए । पुलिसले गजेन्द्रले घरेलु झगडाका कारण पत्नीलाई यसरी फोन गरेर डर देखाउने प्रयास गरेको हुन सक्ने आशंका गरेको छ ।







डिसी नेपाल







Facebook Comment