अपाङ्गता भएको अवस्थामा पनि अध्ययन र लेखन निरन्तर

डिसी नेपाल
१७ मंसिर २०७८ १६:०९
32
Shares

काठमाडौं।आज विश्व अपाङ्ग दिवस मनाइरहँदा अपाङ्गता भएका मदन पुरस्कार विजेता कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का नरबहादुर साउँद महेन्द्रनगर बजारमा स्कुटी मर्मतमा व्यस्त भेटिए ।

शारीरिकरुपले अशक्त भए पनि उनको अध्ययन र लेखनप्रतिको लगाव भने जो कोहीका लागि पनि प्रेरणादायी छ । शारीरिकरुपले अशक्त, उमेर ५८ वर्ष र पारिवारिक स्थिति पनि सुखद् नहुँदा पनि मदनपुस्कार विजेता नरबहादुरले लेखन र अध्ययनलाई निरन्तरता दिँदै आएका छन्। न सन्तति न त श्रीमती । ९१ वर्षीया आमा गुमाएर पीडामा रहेका नरबहादुरको ध्यान अहिले अध्ययनमा रहेको छ ।

विसं २०६६ मा ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार जितेका उनी अहिले महेन्द्रनगरस्थित शारदा विद्यापीठमा स्नातक तहमा शास्त्री अध्ययन गर्दै छन्। “संस्कृत ग्रन्थ पनि अध्ययन गर्नुपर्ने भएकाले शास्त्री अध्ययनको दोस्रो वर्ष अहिले घरबाट अनलाइन कक्षा लिँदैछु”, उनले भने, “तरकारी खेती नाकम किताब लेखन अध्ययनका कारण अधुरोजस्तै छ ।”

उनले शास्त्री अध्ययन सकिएपछि आगामी वर्ष ‘तरकारी खेती’ नामक किताब बजारमा ल्याउने बताए । आफू अशक्त, घरमा ९३ वर्षीय बुबा धनबहादुर र ४५ वर्षीया बहिनी जानकीको स्याहार पाएर लेखन तथा अध्ययनमा मन दिएका उनले परिवारमा निकै कष्ट रहेको सुनाए ।

“बहिनीको पनि अवस्था शारीरिक र मानसिक रुपले पूर्णरुपमा ठीक छैन”, उनले भने, “तर पनि बहिनीले बुबा र मलाई खाना पकाएर खुवाएकै छ ।” नरबहादुरको पुर्खौली घर बैतडी हो भने लामो समयदेखि कञ्चनपुरको भीमदत्त–२ मा बस्दै आएका छन्। पुस्तक लेखनमा सक्रिय उनी ओछ्यानमै पल्टिएर कम्प्युटरमा अक्षर थिच्न सक्रिय छन् ।

“अपाङ्गता भएका व्यक्तिले पनि समाजका लागि केही सकारात्मक काम र सन्देश दिन सक्छन भन्नेमा ढुक्क छु”, उनले भने, “त्यो अवस्था भएका व्यक्तिलाई सोहीअनुसारको सीप र काममा लगाउने गरी सरकारले योजना बनाउनु आवश्यक छ ।” दोस्रो पुस्तक ‘च्याउ खेती’ पनि बजारमा ल्याएका उनले नयाँ पुस्तक ‘तरकारी खेती’ लेखन जारी राखेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.