प्रतिष्ठानद्वारा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कार
काठमाडौं।लाल भागिरथा बानियाँ प्रतिष्ठानले चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत तीन प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ ।
यस वर्ष पुरस्कृत हुनेमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवं न्यूरो सर्जन डा गोपाल सेडाईं, मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका व्यावसायिक कृषक प्रधान किसान र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्का छन् । प्रतिष्ठानको आज बसेको प्रतिभा छनोट समितिको बैठकले उनीहरुलाई पुरस्कारका लागि छनोट गरेको समितिका संयोजक हरिचरण बानियाँले बताए।
विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन र सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने उद्देश्यले दुई वर्षअघि स्थापित यस प्रतिष्ठानले रु १० लाखको अक्षयकोष सञ्चालन गरिरहेको छ । कोषको ब्याज रकमबाट हरेक वर्ष तीन जना प्रतिभालाई पुरस्कार दिने संस्थाको कार्यक्रम छ । त्यसमध्ये रु ३१ हजार नगदसहितको उत्कृष्ट प्रतिभा पुरस्कार डा सेडाईंलाई प्रदान गरिने भएको हो ।
यसैगरी रु ३१ हजार नगदसहितको उत्कृष्ट कृषि पुरस्कार लोपोन्मुख किसान समुदायका उदाहरणीय व्यक्ति किसानलाई र रु ३१ हजार नगदसहितको उत्कृष्ट गृहिणी पुरस्कार खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार प्रदान गरिने डा सेडाईं झापाको मेचीनगर–११ निवासी प्रसिद्ध न्यूरोसर्जन चिकित्सक हुन् । उनले हेमोफिलिया भएका बिरामीको मस्तिष्कघातको नेपालमै पहिलोपटक सफल शल्यक्रिया गरेका थिए । उनले भारतको नयाँ दिल्लीस्थित एम्सबाट एमएस एमसीएच डिग्री हासिल गरेका हुन् ।
उनी हाल त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा सहप्राध्यापक हुन् भने ग्रान्डी इन्टरनेसनल हस्पिटललगायत अस्पतालमा समेत उपचार सेवा प्रदान गर्दछन् । आइएस्सी अध्ययनका क्रममा उनले सिद्धार्थ बनस्थलीबाट नेपाल प्रथमको स्थान हासिल गरेका थिए । उनका ६० भन्दा बढी शोध अमेरिका, चीन, कोरिया, जापानलगायत मुलुकका जर्नलमा प्रकाशित भइसकेका छन् ।
उत्कृष्ट कृषि पुरस्कार प्रदान गरिने किसान नेपालकै लोपोन्मुख एवं झापामा मात्र पाइने किसान समुदायका अगुवा हुन् । नेपालमा आदिवासी वर्गमा पर्ने किसान समुदायको जनसङ्ख्या ५०० को हाराहारीमा रहेको मानिएको छ । उनी किसान समुदायमा छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ र परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर आर्थिक उन्नतिको खुड्किलो उक्लिनुपर्छ भन्ने मान्यता राख्छन् ।
उनकी जेठी छोरी रेणुका किसान आफ्नो समुदायमा एसएलसी उत्तीर्ण गर्ने प्रथम महिला छन् । अधियाँ र ठेक्का जग्गा कमाउँदै व्यावसायिक एवं जैविक तरकारी खेतीबाट आर्थिक समृद्धि हासिल गरेको ५६ वर्षीय किसानको उदाहरणीय कर्मलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्षसमेत रहेको बानियाँले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment