प्रतिष्ठानद्वारा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कार

डिसी नेपाल
१७ मंसिर २०७८ १६:३०

काठमाडौं।लाल भागिरथा बानियाँ प्रतिष्ठानले चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएबापत तीन प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ ।

यस वर्ष पुरस्कृत हुनेमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवं न्यूरो सर्जन डा गोपाल सेडाईं, मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका व्यावसायिक कृषक प्रधान किसान र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्का छन् । प्रतिष्ठानको आज बसेको प्रतिभा छनोट समितिको बैठकले उनीहरुलाई पुरस्कारका लागि छनोट गरेको समितिका संयोजक हरिचरण बानियाँले बताए।

विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन र सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने उद्देश्यले दुई वर्षअघि स्थापित यस प्रतिष्ठानले रु १० लाखको अक्षयकोष सञ्चालन गरिरहेको छ । कोषको ब्याज रकमबाट हरेक वर्ष तीन जना प्रतिभालाई पुरस्कार दिने संस्थाको कार्यक्रम छ । त्यसमध्ये रु ३१ हजार नगदसहितको उत्कृष्ट प्रतिभा पुरस्कार डा सेडाईंलाई प्रदान गरिने भएको हो ।

यसैगरी रु ३१ हजार नगदसहितको उत्कृष्ट कृषि पुरस्कार लोपोन्मुख किसान समुदायका उदाहरणीय व्यक्ति किसानलाई र रु ३१ हजार नगदसहितको उत्कृष्ट गृहिणी पुरस्कार खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार प्रदान गरिने डा सेडाईं झापाको मेचीनगर–११ निवासी प्रसिद्ध न्यूरोसर्जन चिकित्सक हुन् । उनले हेमोफिलिया भएका बिरामीको मस्तिष्कघातको नेपालमै पहिलोपटक सफल शल्यक्रिया गरेका थिए । उनले भारतको नयाँ दिल्लीस्थित एम्सबाट एमएस एमसीएच डिग्री हासिल गरेका हुन् ।

उनी हाल त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा सहप्राध्यापक हुन् भने ग्रान्डी इन्टरनेसनल हस्पिटललगायत अस्पतालमा समेत उपचार सेवा प्रदान गर्दछन् । आइएस्सी अध्ययनका क्रममा उनले सिद्धार्थ बनस्थलीबाट नेपाल प्रथमको स्थान हासिल गरेका थिए । उनका ६० भन्दा बढी शोध अमेरिका, चीन, कोरिया, जापानलगायत मुलुकका जर्नलमा प्रकाशित भइसकेका छन् ।

उत्कृष्ट कृषि पुरस्कार प्रदान गरिने किसान नेपालकै लोपोन्मुख एवं झापामा मात्र पाइने किसान समुदायका अगुवा हुन् । नेपालमा आदिवासी वर्गमा पर्ने किसान समुदायको जनसङ्ख्या ५०० को हाराहारीमा रहेको मानिएको छ । उनी किसान समुदायमा छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ र परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर आर्थिक उन्नतिको खुड्किलो उक्लिनुपर्छ भन्ने मान्यता राख्छन् ।

उनकी जेठी छोरी रेणुका किसान आफ्नो समुदायमा एसएलसी उत्तीर्ण गर्ने प्रथम महिला छन् । अधियाँ र ठेक्का जग्गा कमाउँदै व्यावसायिक एवं जैविक तरकारी खेतीबाट आर्थिक समृद्धि हासिल गरेको ५६ वर्षीय किसानको उदाहरणीय कर्मलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्षसमेत रहेको बानियाँले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *