५० वर्षअघि आलुबारीमा हराएको बिहेको औँठी फेला परेपछि….
हराएको ५० वर्षपछि फेला परेको औँठी
बीबीसी । यूकेको एउटा टापु वेस्टर्न आयल्समा ५० वर्षअघि हराएको आफ्नो बिहेको औँठी एउटी महिलाले फेला पारेकी छन्।
बेन्बेकुलास्थित बारीमा आलु खन्दा पेगी मक्स्वीनको औँठी हातबाट खसेर हराएको थियो। उनले त्यो औँठी फेरि फेला पर्ला भनेर कल्पना पनि गरेकी थिइनन्।
तर उनको औँठी हराएको कुरा सुनेपछि सोही टापुका अर्का निवासीले मेटल डिटेक्टर प्रयोग गरेर खोज्न थाले।
डोनल्ड मक्फी ले पहिला आलुबारी रहेको ठाउँमा तीन दिन खोजेपछि ती महिलाको औँठी फेला पारे।मक्फीले बेन्बेकुलामा एउटा होस्टल चलाउँछन्।
उनले औँठी हराएको बारीमा ९० वटा ठाउँमा खनेका थिए।त्यहाँ पुराना धातुका वस्तु, पेयपदार्थका क्यान र अरू सामान फेला पारेपछि उनले अन्ततः पेगी मकस्वीनको बिहेको औँठी भेटे।

छयासी वर्षीया मक्स्वीनले भनिन्, ‘उनले मेरो ढोकामा आएर ‘मैले तपाईँलाई केही देखाउनु छ, हेर्नूस् त’ भने। त्यो त मेरो औँठी रहेछ !’
‘मैले त त्यो विश्वास गर्न नै सकिनँ, तर मेरो औँठी साँच्चै फेला परेको थियो। मैले त फेरि त्यो देख्न पाइएला भनेर सोचेकी पनि थिइनँ।’
मक्स्वीनले सन् १९६० को अन्त्यतिर आलु टिप्दै गर्दै गर्दा उक्त औँठी हराएकी थिइन्।
उनले भनिन्, ‘म मेरो पन्जामा लागेको बालुवा झार्दै थिएँ, त्यही बेला मेरो हातको औँठी झरेछ। घर फर्केपछि बल्ल याद भयो।’ ‘म पछि पटकपटक खोज्न पनि गएँ, तर त्यो फेला पार्नैसकिनँ।’
पेगी र जोनको बिहे जुलाई १९५८ मा भएको थियो। जोनले बिदा मनाउन जाँदा हराएको औँठीको बदला पेगीलाई अर्को औँठी किनिदिएका थिए।
केही वर्षअघि उनको मृत्यु भइसकेको छ। जोनले नयाँ औँठी नकिनिदिउन्जेल पेगीले आफ्नी आमाको बिहेको औँठी लगाएकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment