देउवा र सिटौलाको मित्रता नवीकरणको आयु ?

विजयप्रसाद मिश्र
१८ मंसिर २०७८ १९:५२

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा जसको साथ पाएर शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनमा सभापति हात पारेका थिए, उनैसँग १४ औं महाधिवेशनको मुखमै मित्रता नवीकरण भएको छ । कांग्रेस नेता कृष्ण सिटौला र शेरबहादुर देउवाबीच प्रदेशको निर्वाचनमा तालमेल गर्ने क्रममा मित्रता नवीकरण भएको हो ।

सिटौलालाई झापा जिल्लाको राजनीतिमा अप्ठेरो पारिरहेका नेपाली कांग्रेसको प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवालाई नसोधी महामन्त्रीको उम्मेदवारी दावी गरेकाले देउवालाई प्रदेश नंं १ को राजनीतिमा सिटौलासँग सहकार्य गर्न सहज भएको हो । शेरबहादुर देउवाले प्रवक्ता शर्मालाई सहमहामन्त्रीमा मानेमात्र प्यानलमा पार्न सक्ने स्थिति भएको तर शर्माले महामन्त्री नै ताकेपछि उनी देउवा पक्षको डेञ्जर जोनमा पुगेका छन् ।

प्रदेश निर्वाचनका लागि सिटौला र देउवाबीच कार्यगत एकता भएकै हो । जुन प्रदेश नंं १ को प्रदेश सभापतिमा देउवापक्षले सिटौला निकट झापाका नेतालाई प्रदेश नं. १ को सभापति बनाउने सहमति गरेका छन् ।

जतिजति विश्वप्रकाश शर्मासँग देउवाको दुरी बढने छ त्यत्तिनै देउवा र सिटौलाबीचको मित्रताले नियमितता पाउने वा नपाउने भन्ने एकिन गर्न सकिन्छ । हो, प्रदेश निर्वाचनका लागि सिटौला र देउवाबीच कार्यगत एकता भएकै हो । जुन प्रदेश नंं १ को प्रदेश सभापतिमा देउवापक्षले सिटौला निकट झापाका नेतालाई प्रदेश नं. १ को सभापति बनाउने सहमति गरेका छन् । यसले पौडेल खेमाका गुरुराज घिमिरे र सिटौला पक्षका उद्वव थापाले प्रदेश नंं १ को प्रदेश सभापतिमा प्रतिस्पर्धा गरिरहेका छन् ।

हेटौंडामा जारी बाग्मती प्रदेशको अधिवेशनमा भीमसेन दास प्रधान, इन्द्रबहादुर बानियाँ र जगदीश्वर नरसिंह केसीले उम्मेदवारी दिएको भएपनि भीमसेन दास प्रधान कृष्ण सिटौला पक्षको भनेर चिनिन्छन् । प्रदेश १ मा सकारात्मक सन्देश दिएपनि बाग्मती प्रदेशमा भनेर सिटौला र देउवा दुबैको उम्मेदवारी छ ।

प्रदेश १ र बाग्मती प्रदेशका प्रसँग फरक फरक भएकोले अहिले नै माहाधिवेशनमा समेत पहिलो चरणमै कृष्ण सिटौलाले सहयोग गर्ने एकीन हुन सकेको भने छैन् । राजनीतिमा एक रातमै समिकरणहरु उलटपलट हुने भएकोले देउवा र सिटौलाबीच मित्रता नविकरण भएपनि यो मित्रता लामो समयसम्म जान्छ कि जान्न अथवा यो मित्रताको आयू कति हो भन्ने विश्लेषण भइरहेको छ ।

नेपाली कांग्रेसको रामचन्द्र पौडेल खेमामा आधा दर्जन सभापतिको दावेदारहरु हुनुले अबको सभापति शेरबहादुर देउवा नै हुन् भनेर सर्वत्र प्रचार हुन थालेको छ । स्वयं कृष्ण सिटौलाले समेत महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन भइसकेपछि आफू सभापतिमा उठ्ने या नउठ्ने भन्ने एकीन गर्ने बताएका थिए । यसैबीचमा उनका पक्षबाट १३ औं अधिवेशनमा महामन्त्रीमा उठेका गगन थापाले सिटौलालाई नसोधी महामन्त्रीमा उम्मेदवारी सार्वजनिक गरेपछि उनीहरुबीच खट्पट भएको थियो । त्यसको केही दिनपछि गगन थापाको मानिस भनेर चिनिएका प्रदीप पौडेलले भने कृष्ण सिटौलालाई सोधेरै महामन्त्रीको दावेदारी सार्वजनिक गरेका थिए ।

महामन्त्रीमा २ वटा पदमा निर्वाचन नै हुन्छ । यसका लागि धेरै आकांक्षीहरु छन् । को कुन प्यानलबाट उठ्ने हुन भन्ने एकीन अझै भइसकेको छैन । गगन थापालाई देउवाले आफ्नो खेमामा लिने छैनन् । डा. शेखर कोइराला समेत पहिलो चरणको निर्वाचनमा आफू कसैलाई महामन्त्रीमा बचन दिने पक्षमा देखिएका छैनन् । अर्थात शेखर कोइरालाले शेरबहादुर देउवाजस्तो एउटा सिंगो प्यानल बनाएर प्रतिस्पर्धा गर्नसक्ने देखिदैन । डा. शेखरको ग्रुपबाट सहमहामन्त्रीमा उठ्छु भन्ने सर्लाहीका अमरेश सिंहबाहेक अन्य कसैले उनको समुहबाट उठ्छु भनेका छैनन् ।

यस्तो अवस्थामा डा. शेखरलाई आफ्नो सिंगो प्यानल बनाउन सकस भइरहेको छ । अझ केही महाधिवेशन प्रतिनिधिहरु यस्ता छन् जो कोइराला परिवारको समर्थक भएपनि डा. शेखर कि डा. शशांक भन्दा दुबै मिलेर एउटा उम्मेदवार बन्नु पर्दछ भनिरहेका छन् । उनीहरु खुलेर एकातर्फ अहिले नै लाग्ने स्थितिमा छैनन् । यसले कोइराला समर्थकहरुको भोट कता खनिन्छ भन्ने थाहा हुँदैन । कसैले हौसाएर सुजाता कोइरालालाई सभापतिको उम्मेदवार बनाइदियो भने उनले पनि हल्लै हल्लामा गिरिजाप्रसाद कोइरालाकी छोरी भनेर अरु कोइरालाई टक्कर दिन सक्छिन् । महिला भएकीले सुजाता प्रति थप सेम्पेथिक बढ्न पनि सक्दछ । कोइराला परिवारको यस्तो तरल स्थितिले सिटौला एउटा बलियो खम्बा समात्न चाहन्छन्, त्यो भनेको शेरबहादुर देउवा बाहेक अरु कोही छैनन् ।

कोइराला परिवारको झमेलामा पर्नुभन्दा ‘वीन वीन पोजिसन’मा रहनका लागि कृष्ण सिटौलाले आफू सुरक्षित हुने उपाएको खोजी गरे । सिटौलालाई १३ औं महाधिवेशनमा दोस्रो चरणमा जसले देउवासँग लगेर जोडिदिएको थियो त्यही शक्ति अहिले नेपाली कांग्रेसको राजनीतिमा शुरुमै प्रभाव जमाउन सफल भएको छ । या निर्वाचनका खेलाडी कोइराला परिवार भन्दा एक कदम अगाडी देउवा रहेछन् भन्ने प्रमाणित भएको छ ।

कृष्ण सिटौलाले आफूलाई उपाध्यक्षमा राखेर शेरबहादुर देउवाको खेमामा पस्ने र एउटा महामन्त्री, दुईवटा सहमहामन्त्री, केही केन्द्रीय सदस्य र एक वा पाएदेखि दुईवटा प्रदेश सभापति लिएर देउवासँग भद्र सहमति गर्न लागेका छन् । यस्तो अवस्थामा गगन थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेपछि रामचन्द्र पौडेलको खेमाको बैठकमा उपस्थिति जनाउनु र कांग्रेस पवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवारी घोषणा पछि एउटा कार्यक्रममा बिमलेन्द्र नीधिसँग देखिएपछि सिटौला र देउवा खेमा दुबै झस्किएको छ ।

बिमलेन्द्र नीधिको समुहबाट शर्मा महामन्त्रीमा उठ्न खोजेका हुन कि भन्ने कुरा उनले भर्खरै एक सार्वजनिक कार्यक्रममा शेरबहादुर देउवालाई सुझाव दिने गरी दिएको अभिव्यक्तिबाट समेत पुष्टि भइसकेको छ । प्रवक्ता शर्मा र देउवाबीचको दुरी विस्तारै गएको र शर्माले सहमहामन्त्रीमा आफूलाई फिट देखेभने देउवा खेमामा अटाउने सम्भावनाहरु भने अहिले पनि कायमै छ ।

यस्तोमा पूर्वको राजनीतिमा देउवाले आफू सभापतिमा, कृष्ण सिटौलालाई उपसभापतिमा र विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीमा राख्न सकेभने उनले निर्वाचन अगाडी नै सभापतिको माला लगाएपनि हुन्छ भन्नेहरु कांग्रेस भित्र प्रसस्त छन् ।

यस्तोमा पूर्वको राजनीतिमा देउवाले आफू सभापतिमा, कृष्ण सिटौलालाई उपसभापतिमा र विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीमा राख्न सकेभने उनले निर्वाचन अगाडी नै सभापतिको माला लगाएपनि हुन्छ भन्नेहरु कांग्रेस भित्र प्रसस्त छन् ।

नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालालाई राजनीतिक संकट पर्दा दिनरात साथ दिने व्यक्तित्वका रुपमा चिनिएका कृष्ण सिटौलालाई कोइराला परिवारले ‘यूज एण्ड थ्रो’को नीति लिएको पाएपछि उनको कोइरालाहरु प्रति मोह टुटेको छ । सिटौलाले आफ्नो एउटा गुट बनाएर बसेका थिए । रामचन्द्र पौडेल १३ महाधिवेशनमा हार्ने पक्का भएपछि १४ औं महाधिवेशनमा कोइराला परिवारले आफूलाई सहयोग गरिहाल्छ कि भन्ने झिनो आशा बोकेर सिटौलाले उनीहरुसंग सम्बन्ध बढाउन समेत खोजेका थिए । तर पटक पटकको भेटमा कोइराला परिवारले सिटौलाको आवश्यकता नै महशुस नगरेजस्तो व्यवहार देखाए ।

शेरबहादुर देउवाले सिटौलाको गगन थापाँंगको सम्बन्ध चिसिएको र कोइराला परिवारले समेत अवसर नदिएको अवस्था बुझेर सिटौलालाई प्रस्ताव पठाइयो भने उनले सहयोग गर्न सक्दछन् भन्ने अनुमान गरेर शुरुमा पाँच दलिय गठबन्धनको सञ्जालमा र पछि नेपाली कांग्रेसको प्रदेश नं. १ को निर्वाचन सम्पन्न गर्ने अभिभारा सुम्पिएर उनको सम्मान गरे । अर्थात भनौ शेरबहादुर देउवाले राजनीतिक संस्कार देखाए । दुईवटा अफरले गर्दा सिटौला देउवासँग नजिकिए र पुरानो मित्रता नविकरण गरे ।

राजनीति गरेर अघि बढेको सिटौलाले जीवनभर डाक्टरी पेशा गरेर पछिल्लो समय राजनीतिमा आएका डा. शशांक र डा. शेखरलाई स्वीकार गर्न सकेनन् । अबको कोइराला परिवारमा रहेको व्यक्तिहरुबाट नेपाली कांग्रेसको राजनीति पार् लाग्दैन भन्ने सोचेर नेपाली कांग्रेसको भविष्यका लागि उनी सोचविचार गरेर देउवा खेमामा लागेका हुन् ।

रामचन्द्र पौडेलको खेमा भनेर चिनिएको अहिलेको टीम भनेकै कोइराला खेमा पनि हो । पछिल्लो समय सिटौलालाई नसोधी उनको राजनीतिक कलब्रेकको भोटेको एक्काको रुपमा रहेका गगन थापालाई कोइराला परिवारले उनीहरुतिर आकर्षित गरेको मन परेको छैन् । यसले पनि पौडेल खेमा की देउवा खेमा भन्दा सिटौलालाई देउवा खेमाबाटै बढी अवसर प्राप्त हुने स्थिति देखिएको छ । यसैले पनि मित्रता नविकरण गरेका हुन् । तर यसको आयू कति ?

सिटौलाले प्रदीप पौडेल, बाराका उमाकान्त चौधरी र काठमाडौंका भिमसेन दास प्रधानलाई कुनै न कुनै अवसरहरु जुटाउनु पर्ने छ । सिटौलाका पक्षका यी तीन जनामध्ये प्रदीप पौडेल र उमाकान्त चौधरी शुरुमा देउवा निकट थिए र त्यसबाटै उनले सापटी लिन भियाएका थिए । तर भीमसेन दास प्रधान भने गगन थापा जस्तै दीगो रुपमा सिटौलाकै पक्षमा बस्ने पनि देखिदैन । काठमाडौंको राजनीतिमा सिटौलाको पाइनलमा देखिए पनि समग्रमा प्रधान कोइराला खेमाको रुपमा चिनिएका थिए ।

राजनीतिमा घुमिफिरी रुम्जाटार भनेजस्तै कतै कोइराला परिवारका कहिल्यै जेल नपरी राजनीतिमा मौलाएकाहरु भन्दा नेविसंघ देखि नै राजनीतिमा सक्रियहरुलाई नै अवसर दिनु पर्दछ की भन्ने लागेर सिटौला देउवा निकट भएका छन् ।

 

राजनीतिमा घुमिफिरी रुम्जाटार भनेजस्तै कतै कोइराला परिवारका कहिल्यै जेल नपरी राजनीतिमा मौलाएकाहरु भन्दा नेविसंघ देखि नै राजनीतिमा सक्रियहरुलाई नै अवसर दिनु पर्दछ की भन्ने लागेर सिटौला देउवा निकट भएका छन् ।

यता शेरबहादुर देउवा तराईमा बिमलेन्द्र नीधिलाई टक्कर दिने त्यस्तो व्यक्तिहरुको खोजिमा छन् जसले आफूसंग लामो समयसम्म कार्यगत एकता गरोस । त्यो व्यक्ति भनेको कि त बिजयकुमार गच्छदार हुन सक्दछन कित कृष्ण सिटौला नै । कोइराला परिवारलाई साइजमा राखिराख्नका लागि पनि चौधरी र सिटौला देउवाको लागि नभइ नहुने पात्र हुन् ।

यसका लागि शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीको पाइनलका केही व्यक्तिहरुलाई पदाधिकारीमा ल्याउनु पर्ने हुन्छ । तर देउवा खेमा भित्र पहिलेदेखि नै प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी सावत, ज्ञानेन्द्र बहादुर कार्की पाइप लाइनमा छन् । पछिल्लो चरणमा विश्वप्रकाश शर्मा पनि आश गरेर बसेका छन् । यी सबैलाई मिलाउनु र सिटौलाका मानिसहरुलाई पनि कोटा दिनु देउवालाई फलामको चिउरा चपाएजस्तै हुन्छ ।
त्यसका लागि केही आकांक्षीले सहमहामन्त्री मै चित्त बुझाउनु पर्ने हुन्छ । त्यो भाग्यमानी को को हुन्छन् भन्ने एक्कीन त छैन । तर देउवाले आफ्ना गुटका उपाध्यक्ष चाहनेलाई महामन्त्रीमा र महामन्त्री चाहनेलाई सह महामन्त्रीमा झार्न सकेपनि सिटौला स्वयं र उनका पाइनलका मानिसहरु शेरबहादुर देउवाको पाइनलमा सहजै अटाउन सक्दछन् ।

यदि यसो हुन सक्यो भने कोइराला परिवारको राजनीति विस्तारै ओझेलमा पर्दै जानेछ । नेपाली कांग्रेसमा दुईपटकभन्दा बढी सभापति हुन नपाउने व्यवस्थाले समेत सिटौलालाई उपसभापतिमा यो पटक गएमा अर्को पटक देउवा खेमाबाट सभापति हुन पाइने दाऊ पनि छ । किनकी शेरबहादुर देउवाले यस पटक शशांक कोइरालालाई उपसभापतिमा बसेभने आफूले अर्को पटकका लागि सभापतिमा सहयोग गर्ने भनेका थिए । त्यसैगरी बिमलेन्द्र नीधिलाई समेत यसपटक उपसभापति मै बस्न भनेकोमा दुबैजनाले नमानेको अवस्थामा अब १५ औं महाधिवेशनमा आफू सभापति बन्नका लागि अहिलेदेखि नै देउवालाई पहिलो चरण मै सभापतिमा जिताउन सकियो भने सभापतिमा भविष्यमा देउवाको सहयोग पाउने आशा सिटौलाको छ । किनकी भविष्यका सभापतिका दावेदारहरु नीधि र डा. शशांकले देउवाको साथ छोडेको अनुभुति सिटौलालाई भएको छ ।

देउवा र सिटौला मिलेको बेला डा. शेखर कोइरालालाई भने ठूलो नोक्सानी हुनेछ । जबसम्म कोइराला परिवार एक भएर आफ्नो पाइनल समेत बनाउन सक्दैनन् तबसम्म उनीहरुको जीत अनिश्चित छ । केही विश्लेषकहरुले डा. शेखर कोइराला यसपटक सभापतिमा नउठी नछोड्ने र उनलाई बिजयकुमार गच्छदार र कृष्ण सिटौलाले जुनिएर भनेर महत्व नदिने भएकाले पनि कोइराला परिवारको राजनीति धरापमा परेको हो ।

डा. शशांकलाई कांग्रेसका मतदाताहरुले एकपटक महामन्त्रीमा साथ दिए र केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत डा. शेखरलाई दिएका थिए । तर त्यस अनुसार दुबैले गतिविधि गरेर देखाउन सकेनन् । अरुको अस्तित्व स्वीकार गर्न नचाहने प्रबृत्तिले गर्दा कोइराला परिवारलाई विस्तारै उनीहरुका समर्थकले छोड्दै गएका छन् ।

कांग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशनमा आफ्नो पक्षको सभापतिको उम्मेदवार नउठाए पनि सिटौला पक्षकोलाई समर्थन गर्न लगाएर देउवाले प्रवक्ता शर्मामा चुप लाग्न बाध्य बनाएका छन् । प्रदेश १ मा संस्थापन पक्ष नै बलियो देखिदा देखिदै सिटौला पक्षधरलाई सभापतिमा स्वीकार्नु भनेको देउवाको महानता हो । देउवा पार्टी महाधिवेशनमा कसैलाई नपेली आगामी दिनमा लगतै हुने तीन तहको निर्वाचनमा सबै साथ मिलेर पार्टीलाई एकनम्बर बनाउनु पर्दछ भन्ने पक्षमै गएको उनको भाषणले देखिएको छ ।

विराटनगरमा भइरहेको प्रदेश १ को निर्वाचनको माहौल हेर्दा करिब १ हजार ८ सय प्रतिनिधि रहेकोमा पौडेल कोइराला पक्षसँग १ हजार हाराहारी र देउवा सिटौला पक्षसँग ८ सय हाराहारी प्रतिनिधि छन्। यस्तो बेला शेरबहादुर देउवा खेमाकोले जीत्ने स्थिति नभएकाले नै सिटौलालाई छोडेको हो भन्ने तर्क दिनेहरु समेत छ । भोटकै आधारमा हार्नुभन्दा सिटौलालाई अवसर दिंदा उनका पक्षले पौडेल पक्षबाट भोट तानेर सभापतिमा बाजी मारेको खण्डमा महाधिवेशनमा थप मित्रता प्रगाढ बनाउन देउवा र सिटौलालाई सहज हुनेछ । हैन भने प्रदेश १ र बाग्मती प्रदेशको समिकरण पछि फेरी पनि सिटौला र देउवाबीच पहिलो चरणको निर्वाचनमा समिकरण हुन सक्ने छैन् । तर सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा भने अहिलेको मित्रता नविकरणले देउवा र सिटौला दुबै पक्षलाई फाइदा हुन सक्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *