सोनी एक्सिट्रमको ब्रान्ड एम्बासडर
काठमाडौं । हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ मा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ ब्रान्ड एम्बेसडर चुनिएकी छिन् । प्रतियोगिता सन् २०२२ को मे ७ मा पोखरामा हुँदैछ ।
फेवातालमा हुने प्रतियोगितामा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ ।
विश्वभरिका करिब १ सय प्रतियोगीहरूको सहभागिता हुने उक्त एक्स्ट्रिम रेस नेपालमा पहिलो पटक हुन लागेको हो ।
स्वर्णधारी खेलाडी सोनी गुरुङ ‘आइकन’ खेलाडी भएकीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको आयोजक हिमालयन एक्स्टिमका रेस डाइरेक्टर रिक्की योञ्जनले बताए । सशस्त्र प्रहरी बल (एपीएफ) की खेलाडी सोनीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्नेछिन् ।
एम्बेसडर सोनीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने ड्रेस स्विमिङ (वेट सुट) सुट, टिसर्ट, जुत्ता लगायतका कस्ट्युम सामग्री मंगलबार प्रतियोगिता आयोजक संस्थाका को–रेस डाइरेक्टर रिकेश योञ्जनले हस्तान्तरण गरे ।
उक्त सामग्री विश्व प्रख्यात ‘हुब’ कम्पनीको रहेको र यसले सोनीलाई प्रतिस्पर्धामा सहयोग पुग्ने आयोजकले जनाएको छ ।
६ वर्ष देखि एफिएफमा कार्यरत सोनी धादिङमा जन्मिएकी खेलाडी हुन् । २७ वर्षीया सोनी विगत ७ वर्षदेखि ट्रायथोलन खेलमा आबद्ध छिन् । उनी आठौँ राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन् ।
ब्राण्ड एम्बेसडर चुनिएपछि सोनीले नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ मा सहभागी हुन पाउँदा निकै गर्व लागेको बताइन् ।
उनले भनिन्– विश्वका एकसे एक एथलिटहरूसँग आफ्नै देशमा सहभागी हुन पाउनु आफ्नो लागि मात्रै नभई देशकै लागि गौरवको कुरा हो ।
प्रतियोगिताका लागि विगत ५ महिना देखि निरन्तर रूपमा अभ्यासमा जुटेकी सोनीले आफूले सोचेको सपना पस्रा गर्नेतर्फ नै लागि परेको बताइन् ।
‘यो हामीले खेलिरहेको भन्दा निकै कठिन र जोखिमपूर्ण प्रतियोगिता हो’ उनी भन्छिन् –‘नेपाली खेलाडीहरू कठिन संघर्षकाबीच पनि देशको झण्डा उठाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने कुरालाई म थप चरितार्थ गर्दै देशका लागि केही योगदान गर्न चाहन्छु ।’
दुई वर्षअघि आयोजना हुने तय भएको उक्त प्रतियोगिता कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो । ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ विश्वकै साहसिक प्रतियोगिताका रूपमा चिनिने गर्दछ ।
युरोपका विभिन्न देशहरूमा यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आए पनि एसियामा भने पहिलो पटक आयोजना हुन लागेको हो आयोजकले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment