यौनजन्य हिंसाविरुद्धको लघु चलचित्रमा फगुनिया प्रथम
काठमाडौं ।टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले तेस्रो संस्करणको लघु चलचित्र (सर्ट फिल्म) प्रतिस्पर्धामा सरिता शाहको फगुनिया पहिलो भएको छ । शाहले रु २५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै पुष्पा जोशी र एन्जेला चौधरीको ललिताले दोस्रो र श्रृषा कुँवर र अस्मिता लावतीको समाइराले तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले क्रमशः रु १५ र १० हजार प्राप्त गरे । त्यस्तै ब्रिटिश काउन्सिलको सहयोगमा आयोजित प्रतियोगितामा सोनाम छेके लामाको द माउण्टेन आर एन्ग्रीले जलवायु परिवर्तन विधामा रु २५ हजारसहित उत्कृष्ट स्थान प्राप्त गर्यो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सिलसिलामा आयोजित लघुचलचित्र प्रतिस्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७ लघुचलचित्र प्रस्तुत गरिएको थियो । चलचित्रका निर्माता, निर्देशक, निर्णायकमण्डल, आइवार्ट समूहका सीमित सहभागीका बीच प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिएको हो ।
वरिष्ठ कलाकार मिथिला शर्मा, चलचित्र विकास बोर्डका चिरञ्जीवी गुरागाईं, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक÷लेखक सम्पदा मल्ल, नेपाल टेलिभिजनका प्रमुख निर्माता तथा आइवार्ट नेपालका सचिव नीता सापकोटालगायत निर्णायक टोलीले कथा, निर्देशन÷सन्देशका आधारमा चलचित्र मूल्याङ्कन गरेको थियो ।
कार्यक्रममा सिडका उपाध्यक्ष बन्दना राणाले महिलाको विषय केवल महिलाको मात्र नभएर समग्र समाजको नै भएको र महिला हिंसा कम गर्नका लागि समाजको मानसिकतामा नै परिवर्तन हुनपर्नेमा जोड दिएका थिए।
आइवार्ट नेपाल च्याप्टरका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले महिला निर्देशकको सीप विकास गर्दै तिनको सङ्ख्या बढाउनका लागि सर्ट फिल्मबीच प्रतिस्पर्धा आयोजना गरिएको बताए । प्रतियोगिताका संयोजक इच्छा गुरुङले सर्ट फिल्म प्रतिस्पर्धाका प्रक्रियागत मूल्याङ्कनका बारेमा जानकारी दिएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment