स्वास्थ्य क्षेत्रको सुधार आवश्यक छः मुख्यमन्त्री राउत

डिसी नेपाल
२६ मंसिर २०७८ २०:३१

काठमाडौं। प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य क्षेत्रको सुधार तथा रोगको उपचार एवं निदानमा अनुसन्धान आवश्यक रहेको बताएका छन्।

स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्नका लागि गठित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदेश २ मा स्वास्थ्य क्षेत्रको सुधार गर्नका लागि आजदेखि सञ्चालनमा ल्याएको प्रदेश स्तरीय कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले नेपालमा अनुसन्धान पक्ष निकै फितलो भएको बताए । प्रदेश नंं २ मा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनुसन्धान आवश्यक रहेकाले परिषद्को प्रदेश कार्यालयको विकास तथा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले उल्लेख गरे ।

मुख्यमन्त्री राउतले अध्ययन अनुसन्धान विना कुनै पनि क्षेत्रको विकास गर्न कठिन हुने भएकाले स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक कार्यालयले समस्याको गहन अनुसन्धान गर्ने विश्वास व्यक्त गरे । प्रदेश नंं २ का प्रदेशसभा सदस्य रामआशिष यादवले अनुसन्धान नभएका कारणले नै सरकारी स्वास्थ्य संस्थाको अवस्था कमजोर बनेको उल्लेख गरे ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले अनुसन्धान शिक्षाको अभिन्न अङ्ग भएको बताए। प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले कतिपय रोगको निदान तथा नियन्त्रणका लागि अनुसन्धान महत्वपूर्ण भएकाले निर्देशनालयले परिषद्लाई सक्दो रूपमा सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा गेहनाथ बराल, परिषद्का सदस्यसचिव एवं कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *