विदेशबाट आउनेले होटल क्वारेन्टाइन बस्नुपर्ने नियम लागू भएको भोलिपल्टै स्थगित
काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन थालेपछि यसको जोखिम रोकथाम गर्नको लागि विदेशबाट आउनेले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको अध्यागमन विभागले १ दिन नबित्दै यो व्यवस्था स्थगित गरेको छ । विभागले हिजो मात्र ६७ वटा देशबाट आउनेले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरेको थियो ।
हिजो विभागले एक सूचना जारी गर्दै ६७ वटा देशबाट आउनेहरुले अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने र त्यसपछि आरट पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएको थियो । विभागका अनुसार यी ६७ देशहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरी उपलब्ध गराएको सूचीअनुसार जोखिमयुक्त देशहरु भनिएको थियो ।
विभागले हिजो लागू गरेको नयाँ नियममा यसरी होटल क्वारेन्टाइन बस्दा यात्रुले आफ्नै खर्चमा बस्नुपर्ने भनेको थियो । तर, शनिबार अर्को सूचना जारी गर्दै विभागले ७ दिनको अनिवार्य होटल क्यारेन्टाइनको व्यवस्था अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ । विभागले जोखिमयुक्त भनेका ६७ देशहरुमा अमेरिका, युरोपका सबैजसो देशहरुसहित कोरिया, मलेसिया, थाइल्याण्ड, माल्दिभ्स लगायत देशहरु थिए । नेपालीहरु रोजगारीका लागि जाने खाडी देशहरु भने यो सूचीमा थिएनन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment