केरलमा १२ घण्टामा फरक पार्टीका २ शीर्ष नेताको हत्याले हिंसाको त्रास, संकटकाल लगाइयो

डिसी नेपाल
४ पुष २०७८ १४:४९
1.8k
Shares

काठमाडौं। भारतको केरल राज्यको अलप्पुझामा १२ घण्टाभित्र २ जना उच्च नेताको हत्या भएपछि यहाँ हिंसाको त्रास बढेको छ । हत्या गरिएका नेतामध्ये एक सोसल डेमोक्रेटिक पार्टी अफ इण्डियाका नेता थिए भने अर्का भारतको केन्द्र सरकारको सत्ताधारी भारतीय जनता पार्टीका नेता थिए । घटनापछि हिंसाको त्रासले आइतबार अलप्पुझा जिल्लामा संकटकालीन कानुन अर्थात सीआरपीसी धारा १४४ लागू गरिएको छ ।

केरलका मुख्यमन्त्री पिनाराइ विजयनले दुवै हत्याको निन्दा गर्दै कडा कारवाहीको आश्वासन दिएका छन् । उनले भने ‘हिंसाका यस्ता जघन्य र अमानवीय कृत्य राज्यको लागि खतरनाक छन् । मलाई विश्वास छ कि सबै जनताले यस्ता हत्यारा समूहको पहिचान गर्ने र उनीहरुलाई अलग थलग गर्नको लागि तयार हुनेछन् ।’

केरलमा एसडीपीआइका प्रदेश सचिव के एस शानमाथि शनिबार राती घर फर्किंदै गर्दा आक्रमण भएको थियो । उनको मोटरसाइकललाई कारले ठक्कर दिइएको थियो त्यसपछि उनीमाथि चक्कुले आक्रमण गरिएको थियो । घटनामा गम्भीर घाइते शानको आधा रातमा कोच्चिको एक अस्पतालमा मृत्यु भएको थियो । पुलिसका अनुसार त्यसको केही घण्टापछि आइतबार बिहान केही आक्रमणकारीहरुले भाजपाका अन्य पिछडा वर्ग (ओबीसी) मोर्चाका प्रदेश सचिव रंजीत श्रीनिवासको घरमा घुसेर उनको हत्या गरिदिए ।

एसडीपीआइले शानको हत्यामा भाजपाको भातृ संगठन राष्ट्रिय स्वयंसेवक संघका एक कार्यकर्ताको हात भएको आरोप लगाएको छ । भाजपाले पनि श्रीनिवासमाथि एसडीपीआइसँग सम्बद्ध इकाइ पीएफआइले बदला लिनको लागि आक्रमण गरेको र उनको हत्या गरेको आरोप लगाएको छ । एसडीपीआइ पिएफआइको राजनीतिक इकाइ हो । बीजेपी प्रदेश अध्यक्ष के सुरेन्द्रनले पछिल्लो ६० दिनमा बीजेपी कार्यकर्ताको तेस्रो हत्या भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *