जटही–ढल्केबर सडक निर्माण अन्तिम चरणमा

डिसी नेपाल
६ पुष २०७८ १७:५०

काठमाडौँ । व्यापारिक मार्गका रुपमा रहेका जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सो सडकमा अहिले झण्डै डेढ किलोमिटर मात्रै निर्माण बाँकी रहेकामा अबको केही महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सक्रियतामा सडक निर्माण द्रुतगतिमा अघि बढेको छ । डेडिकेडेट छ लेनमा सडकको निर्माण भइरहेको छ । सडकसँगै यहाँका निर्माणाधीन पुल पनि चैतसम्ममा सम्पन्न हुने बताइएको छ ।

जनकपुरको मुजेलियाबाट जिरो माइलसम्मको सडक मात्रै कालोपत्र बाँकी रहेको छ । झण्डै ४० किमी लम्बाईको सडक भारतीय सीमाबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्ने गरी निर्माण भएको व्यापारिक मार्ग विस्तार योजनाले जनाएको छ । बिसं. २०७१/७२ मा निर्माण सुरु भएकामा हालसम्म ३८ दशमलव पाँच किलोमिटर सम्पन्न भइसकेको योजनाका निमित्त प्रमुख रामटहल यादवले बताए । उनका अनुसार चार ठेक्कामा निर्माण भइरहेकामा तीन ठेक्का सम्पन्न भइसकेको छ । उनले भने, “निर्माणाधीन खण्डमा पनि चाँडै सकिनेछ ।”

गत आबको अन्त्यसम्ममा साढे दुई किमी सडक कालोपत्र बाँकी रहेको थियो । एक किलोमिटर सडक साउनदेखि अहिलेसम्ममा सम्पन्न भएर अब डेढ किलोमिटर बाँकी रहेको प्रमुख यादवले बताए । निर्माणाधीन ठेक्काको अवधि आगामी चैतसम्म रहेकामा त्यो अवधिमा सम्पन्न हुने उनको भनाइ छ । सडक निर्माणमा चार ठेक्कामध्ये दुई ठेक्का आब २०७१/७२ र अर्को दुई ठेक्का आव २०७३/७४ मा सम्झौता भएको थियो । पहिले भएका दुबै ठेक्का सम्पन्न भइसकेको र पछिल्लो पटक भएका दुई ठेक्कामध्ये एउटा सम्पन्न भइसकेको छ भने एउटा सम्पन्न हुने क्रममा छ । सो सडक निर्माणमा पनि निर्माणस्थल खाली गराउँदा केही समय लागेको थियो ।

व्यक्तिगत सम्पत्ति नभएपनि सार्वजनिक सम्पत्तिलाई हटाउनका लागि प्रक्रियामा लामो समय लाग्दा निर्माण सुरु गर्न केही समय ढिलाइ भएको योजनाले जनाएको छ । विद्युत्को पोल, खानेपानीको पाइप, टेलिफोनको तार सार्नमा समय लागेको निमित्त प्रमुख यावदले बताए । “त्योसँगै त्यहाँ रहेका सरकारी घरटहरा र शौचालय हटाउन पनि समय लागेको थियो”, उनले भने, “अहिले काम गर्न बाँकी एक किलोमिटरमा निर्माणस्थल खाली गराउन समस्या छैन ।”
सो सडकको अधिकांस स्थानमा ५० मिटर चौडाइ रहेको योजनाले जनाएको छ । विशेषगरी बस्ती क्षेत्रमा ५० मिटर चौडाइ गरिएको छ भने अरु ठाउँमा साढे ३७ मिटर चौडा बनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *