भारतभित्र चीनको ठाडो हस्तक्षेप, भारतका १५ वटा ठाउँलाई आफ्नो भन्दै नाम नै फेरिदियो
काठमाडौं। भारतले आफ्नो देशको अरुणाचल प्रदेशभित्र पर्ने दावी गर्दै आएका १५ वटा ठाउँलाई चीनले आफ्नो भन्दै ती १५ ठाउँको नामसमेत परिवर्तन गरिदिएको छ । भारतले अरुणाचल प्रदेशभित्र पर्ने दावी गरेका यी ठाउँ चीनले आफ्नो देशको दक्षिणी तिब्बतमा जांगनानमा पर्ने बताएको छ ।
भारतको विदेश मन्त्रालयले चीनको यो कदमप्रति आपत्ति जनाएको छ । भारतले अरुणाचल प्रदेश सधैं भारतको अभिन्न अंग रहेको र भविष्यमा पनि रहने बताएको छ । चीनले १५ ठाउँको नाम परिवर्तन गरेको भन्दै आएको मिडिया रिपोर्टप्रति प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयले भनेको छ ‘चीनले यस्तो पहिले पनि गरिसकेको छ तर यसो गर्दैमा तथ्य बदलिँदैन ।’
यसअघि एक समाचारमा चीनले अरुणाचल प्रदेशका १५ स्थानको लागि चिनियाँ, तिब्बती र रोमन भाषामा नयाँ नामको सूची जारी गरेको बताइएको थियो । चीनको कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले बिहीबार चीनले १५ स्थानको नम परिवर्तन गरेको विषयमा समाचार प्रकाशित गरेको थियो ।
समाचारअनुसार चीनको नागरिक मामिला सम्बन्धी मन्त्रालयले बुधबार जांगनान का १५ स्थानका नामलाई चिनियाँ, तिब्बती र रोमन भाषामा जारी गरेको थियो । चिनियाँ भाषामा जांगनान भनिने ठाउँलाई नै भारतले अरुणाचल प्रदेश भन्छ । चीनले यो ठाउँ जांगनान भएको र आफ्नो भएको बताउँदै आएको छ भने भारतले यो अरुणाचल प्रदेश भएको र आफ्नो भएको भन्दै आएको छ ।
रिपोर्टका अनुसार चीन सरकारले १५ स्थानको नाम परिवर्तन गरेको छ । उसले ती ठाउँहरुको निश्चित आक्षंश र देशान्तर पनि बताएको छ । चीनले नाम बदलेका १५ ठाउँमध्ये ८ ठाउँ मानिसको बसोवास भएका क्षेत्र हुन् । ४ स्थान पहाड हुन् भने २ स्थान नदी हुन् र एउटा पहाडी खोंच हो ।
ग्लोबल टाइम्सले आफ्नो रिपोर्टमा बेइजिङस्थित चीन तिब्बत रिसर्च सेन्टरका विशेषज्ञ लिएन शियांगमिनको हवाला दिँदै यो घोषणा यी स्थानका नामको बारेमा एक राष्ट्रिय सर्वेक्षणपछि गरिएको र यी नाम सयौं वर्षदेखि चलिआएको बताएको छ । शियांगमिनले यी स्थानको मानक नाम राख्नु जायज भएको बताउँदै भविष्यमा पनि यो क्षेत्रमा अन्य स्थानको मानक नाम राखिने बताएका छन् ।
यो रिपोर्टप्रति प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले बिहीबार एक बयान जारी गरेको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बयानमा भनेका छन् ‘हामीले यो समाचार देखेका छौं । चीनले अरुणाचल प्रदेशको नाम बदल्ने कोसिस गरेको यो पहिलो पटक होइन । चीनले अप्रिल २०१७ मा पनि यस्ता नाम राख्न चाहेको थियो ।’ उनले अगाडि भने ‘अरुणाचल सधैं भारतको अभिन्न अंग रहिआएको छ र भविष्यमा पनि रहनेछ । अरुणाचल प्रदेशमा नयाँ आविष्कार गरिएका नाम राख्दैमा यो तथ्य बदलिँदैन ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment