भारतभित्र चीनको ठाडो हस्तक्षेप, भारतका १५ वटा ठाउँलाई आफ्नो भन्दै नाम नै फेरिदियो

डिसी नेपाल
१६ पुष २०७८ १३:००

काठमाडौं। भारतले आफ्नो देशको अरुणाचल प्रदेशभित्र पर्ने दावी गर्दै आएका १५ वटा ठाउँलाई चीनले आफ्नो भन्दै ती १५ ठाउँको नामसमेत परिवर्तन गरिदिएको छ । भारतले अरुणाचल प्रदेशभित्र पर्ने दावी गरेका यी ठाउँ चीनले आफ्नो देशको दक्षिणी तिब्बतमा जांगनानमा पर्ने बताएको छ ।

भारतको विदेश मन्त्रालयले चीनको यो कदमप्रति आपत्ति जनाएको छ । भारतले अरुणाचल प्रदेश सधैं भारतको अभिन्न अंग रहेको र भविष्यमा पनि रहने बताएको छ । चीनले १५ ठाउँको नाम परिवर्तन गरेको भन्दै आएको मिडिया रिपोर्टप्रति प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयले भनेको छ ‘चीनले यस्तो पहिले पनि गरिसकेको छ तर यसो गर्दैमा तथ्य बदलिँदैन ।’

यसअघि एक समाचारमा चीनले अरुणाचल प्रदेशका १५ स्थानको लागि चिनियाँ, तिब्बती र रोमन भाषामा नयाँ नामको सूची जारी गरेको बताइएको थियो । चीनको कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले बिहीबार चीनले १५ स्थानको नम परिवर्तन गरेको विषयमा समाचार प्रकाशित गरेको थियो ।

समाचारअनुसार चीनको नागरिक मामिला सम्बन्धी मन्त्रालयले बुधबार जांगनान का १५ स्थानका नामलाई चिनियाँ, तिब्बती र रोमन भाषामा जारी गरेको थियो । चिनियाँ भाषामा जांगनान भनिने ठाउँलाई नै भारतले अरुणाचल प्रदेश भन्छ । चीनले यो ठाउँ जांगनान भएको र आफ्नो भएको बताउँदै आएको छ भने भारतले यो अरुणाचल प्रदेश भएको र आफ्नो भएको भन्दै आएको छ ।

रिपोर्टका अनुसार चीन सरकारले १५ स्थानको नाम परिवर्तन गरेको छ । उसले ती ठाउँहरुको निश्चित आक्षंश र देशान्तर पनि बताएको छ । चीनले नाम बदलेका १५ ठाउँमध्ये ८ ठाउँ मानिसको बसोवास भएका क्षेत्र हुन् । ४ स्थान पहाड हुन् भने २ स्थान नदी हुन् र एउटा पहाडी खोंच हो ।

ग्लोबल टाइम्सले आफ्नो रिपोर्टमा बेइजिङस्थित चीन तिब्बत रिसर्च सेन्टरका विशेषज्ञ लिएन शियांगमिनको हवाला दिँदै यो घोषणा यी स्थानका नामको बारेमा एक राष्ट्रिय सर्वेक्षणपछि गरिएको र यी नाम सयौं वर्षदेखि चलिआएको बताएको छ । शियांगमिनले यी स्थानको मानक नाम राख्नु जायज भएको बताउँदै भविष्यमा पनि यो क्षेत्रमा अन्य स्थानको मानक नाम राखिने बताएका छन् ।

यो रिपोर्टप्रति प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले बिहीबार एक बयान जारी गरेको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बयानमा भनेका छन् ‘हामीले यो समाचार देखेका छौं । चीनले अरुणाचल प्रदेशको नाम बदल्ने कोसिस गरेको यो पहिलो पटक होइन । चीनले अप्रिल २०१७ मा पनि यस्ता नाम राख्न चाहेको थियो ।’ उनले अगाडि भने ‘अरुणाचल सधैं भारतको अभिन्न अंग रहिआएको छ र भविष्यमा पनि रहनेछ । अरुणाचल प्रदेशमा नयाँ आविष्कार गरिएका नाम राख्दैमा यो तथ्य बदलिँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *