विदेशबाट फर्किएका युवा व्यावसायिक कृषिमा
काठमाडौं। म्याग्दीको मङ्गला गाउँपालिका–१ तल्लो डडुवाका ३६ वर्षीय कृष्ण पौडेलले व्यावसायिक कृषिबाट स्वरोजगार बनेका छन् । दश वर्ष जापानमा काम गरेर फर्किएका पौडेलले दुई वर्षअघि सुरु गरेको टिकेबी बहुउद्देश्यीय कृषि फार्मबाट मेहेनत गर्ने हो भने स्वदेशमै आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।
सुन्तला, तरकारी र बाख्रापालन गरेका उनले कृषि फार्मबाट कम लगानीमा छिटो आम्दानी लिन सकिने बताए । “चारवटा टनेलमा गोलभेँडा र तरकारी खेती गरेको छु”, उनले भने, “चार सय बोट सुन्तला छन् । अहिले ५० वटाबाट रु ७० हजार बराबरको सुन्तला बिक्री भयो ।”उन्नत बोयर, स्थानीय खरी र जमुनापारिका ४० वटा बाख्रा भएको फार्ममा माउ बाख्राको सङ्ख्या कम्तीमा ५० वटा पु¥याउने पौडेलको लक्ष्य छ । बाख्रा खरिद र फार्म निर्माणमा रु २० लाख लगानी भएको छ । पछिल्लो तीन महिनामा रु एक लाख बराबरको बाख्रा बेचेका पौडेलले थप छवटा बोयर क्रस पाठापाथी बिक्रीयोग्य भएका बताए । फार्ममा एक जनालाई मासिक रु १५ हजार तलबसहित रोजगारी दिएका छन् ।
पौडेलसहित उनका बुवा तेजराज र आमा टीकाकुमारीले पनि फार्ममा काम गर्दछन् । पौडेलका छोराछोरी बेनीमा ब्यूटीपार्लर तालिम केन्द्र सञ्चालन गरेकी श्रीमतीसँगै बसेर पढ्छन् । जापानमा रहँदा गाउँ फर्किएर कृषि पेशा अँगाल्ने योजना बनाएका पौडेल केही समय स्थानीय परिवेश अनुकूल नभएपछि सदरमुकाम बेनीमै बसेका थिए । कोरोना भाइरसको पहिलो लहर फैलिएपछि गरिएको बन्दाबन्दीका क्रममा परिवारका सदस्यसहित गाउँ पुगेका पौडेलले तरकारी खेती विस्तार र बाख्रापालन गर्न सुरु गरेको बताए । “आफैँ फार्म खोलेर अरुलाई पनि रोजगारी दिन्छु भन्ने सोचेर आएको जापानबाट आउँदा परिवेश अनुकूल नदेखेपछि बेनी बसेको थिएँ”, उनले भने, “पहिलो चरणको लकडाउनमा घर आएपछि व्यावसायिक योजनालाई मूर्तरुप दिए ।”
पौडेललाई गत आव २०७७/७८ मा मङ्गला गाउँपालिकाले बाख्राको खोर निर्माणका लागि रु दुई लाख अनुदान उपलब्ध गराएको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले घाँस टुक्रा पार्ने च्यापकटर खरिद गर्न रु १० हजार अनुदान दिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment