जेलबाटै लागुऔषधको कारोबार, १७ जना पक्राउ
काठमाडौं । कारागार भित्र रहेका भारतीय नागरिकले सेटिङ मिलाएर लागुऔषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काठमाडौले उनीहरुको साथबाट ७ हजार एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो पक्राउ पर्नेमा सिन्धुली कारागारका टेलिफोन नाईके र कार्यालय सहयोगी रहेको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोबारका मूख्य कारोबारी हाल रौतहट कारागारमा रहेका भारतीय नागरिक गुड्डु गुप्ता रहेको ब्युरोले जनाएको छ । ब्युरोले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनीहरुको साथबाट प्रहरीले २ हजार ३ सय १६ एम्पुल डाइजेपाम, २ हजार ३ सय ५० एम्पुल फेनारगन, २ हजार ३ सय ३४ एम्पुल नुर्फिन बरामद गरेको जनाएको छ ।
ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार सिन्धुली कारागारमा हुँदा कारागारकै कार्यालय सहयोगी र टेलिफोन नाइके सन्तोष स्याङतानलाई समेत प्रयोग गरेर लागुऔषध कारोबारको सेटिङ मिलाउने गरेका गुप्ताले स्याङ्तानलाई रौतहट कारागारमा सरुवा गराउन सफल भएका थिए ।
‘विभिन्न स्रोत मिलाएर स्याङ्तानलाई रौतहट कारागार सरुवा मिलाएको देखिन्छ’, एसपी श्रेष्ठले भने । गुप्ताले कारोबारमा संलग्न व्यक्तिलाई मासिक १५ देखि २० हजार सम्म रकम दिने गरेको पनि एसपी श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका मध्ये गुप्ताले संग्राम मुक्तान, पञ्च स्याङतान, सुरज सिंह ठकुरी र अन्य दुई व्यक्तिलाई मासिक सो रकम दिने गरेका थिए । उनीहरुले भारतबाट गुप्ताले भनेझै लागुऔषध नेपाल ल्याउने र गुप्ताले भनेको स्थानमा पुर्याउने गरेका थिए ।
गुप्ता २०६८ सालमा लागुऔषध खैरो हेरोइन ७०० ग्रामसहित पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०६९ कात्तिक २१ गते १८ वर्ष कैदको फैसला गरेको थियो । प्रहरीले गुप्ताको समूहलाई काठमाडौ र काठमाडौबाहिरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको थियो ।







डिसी नेपाल








Facebook Comment