कांग्रेस सभापतिलाई पेस्तोल देखाई धम्क्याएको आरोपमा एसपी पाण्डे निलम्बित
काठमाडौं। नेपाल प्रहरीका एसपी हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन्।
सिरहामा कार्यरत रहेका बेला नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई पेस्तोल लिएर घरमै पुगी धम्क्याएको आरोप लागेका एसपी पाण्डेलाई प्रहरी प्रधानकार्यालयले तीन महिनाको लागि निलम्बन गर्न सिफारिस गरेको छ।
मन्त्रालयलले आजैबाट लागू हुने गरी निलम्बन गर्ने प्रहरी प्रधानकार्यालयका एसएसपी बसन्तबहादुर कुँवरले बताए। ‘मंगलबार निलम्बनका लागि लेखि पठाएका थियौं आजबाट लागू भैसकेको छ’, प्रहरीका प्रवक्ता एसएसपी कुँवरले भने।
पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको थियो। पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको छ। एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए।
स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न एसपीलाई दबाब दिँदा सम्बन्ध बिग्रेको थियो। सो विषयमा २ नं. प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै आएको छ। एसपी पाण्डे इलाममा बस्दा पनि विवादमा परेका थिए।
त्यसैगरी बजेट महाशाखामा रहँदा पनि विवादमा परेपछि उनलाई सिरहामा सरुवा गरिएको थियो। त्यहाँपनि लागुऔषधसहित मोटरसाइकल बरामद हुँदा मोटरसाईकल धनीलाई छाडिएको भन्दै उनको आलोचना भएको थियो।
त्यसैगरी पछिल्लो पटक सिके राउतको जनमत पार्टीसँग टलस परेपछि भने पाण्डेले सिरहामा शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लागेको थियो।







डिसी नेपाल








Facebook Comment