विपन्न परिवारका लागि सरकारले घर निर्माण गरिदिने

डिसी नेपाल
३० पुष २०७८ २०:३९

काठमाडौँ। प्रदेश नं २ सरकारले ६१० गरिब विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । प्रदेश नं २ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजनाअन्तर्गत सरकारले गरिब विपन्न परिवारको घर निर्माण गरिदिने निर्णय गरेको छ ।

बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना कार्यान्वयन कार्यविधि, २०७८ र दलित सशक्तीकरण नियमावली, २०७८ स्वीकृत गरेसँगै प्रदेशका गरिब तथा विपन्न परिवारले घर पाउने भएका छन् । आवास योजना २०७८ स्वीकृत भएपछि प्रदेशका सबै जिल्लाको प्रत्येक विधान क्षेत्रमा १० परिवारको घर निर्माण गरिने प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

असहाय तथा विपन्न, एकल महिला, विपन्न परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताका आधारमा आवासको व्यवस्था गरिने मन्त्री साहले बताए । यस आवास योजनाअन्तर्गत बन्ने घर रु पाँच लाखमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा र एक शौचालय रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *