१२ वर्षीय बालकको हत्या गरेको अभियोगमा पाँच जना पक्राउ
पर्सा। पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ सन्ठी का ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनोमोहनप्रसाद यादव र २५ वर्षीय रोहणप्रसाद यादव छन् ।
गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दातर्फ अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
मन्टुको परिवारबाट उनीहरुविरुद्ध दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थालेको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–६ भीष्वास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । अभियुक्तले पारिवारिक रिसइबीका कारण मन्टुको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
अभियुक्त र पीडित परिवारबीच चलिरहेको फौजदारी मुद्दामा बयान परिवर्तन गर्न दबाब दिने उद्देश्यले बालकलाई अपरहण गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको खनालले बताए । स्थानीयवासीका अनुसार दुवै परिवारबीच विचाराधीन अवस्थामा रहेको फौजदारी मुद्दामा मन्टुको परिवारमाथि दबाब बढाउन उनीहरुले मन्टुलाई अपरहण गरेका थिए । पछि पहिचान खुल्ने डरले मन्टुको हत्या गरेर खेतमा शव फालेका थिए । अभियुक्तमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको छ । मन्टुको शव पुस २३ गते गाउँकै उखुबारीमा फेला परेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment