सवा ३ करोड रुपैयाँ मूल्यको तामाको सिक्का काटेर हजारौं मानिसलाई बाँडिने

डिसी नेपाल
२१ माघ २०७८ १३:५५
2.0k
Shares

काठमाडौं। यो कुरा सुन्दा केही अनौठो लाग्न सक्छ कि एउटा सामान्य तामाको सिक्का सवा ३ करोड रुपैयाँ मूल्यको छ । यही सिक्कालाई पनि भाग लगाइनेछ र हजारौं मानिसहरुलाई बेचिनेछ । यो सिक्का सिंगै कुनै एक व्यक्तिले पाउने छैनन् ।

डेलीमेलको रिपोर्टअनुसार यो सिक्कामा एडवार्ड आठौंको तस्वीर बनेको छ । एडवार्ड आडौं बेलायतका राजा थिए । उनी केवल ११ महिनाका लागि राजा बन्न पाएका थिए । यो सिक्काको मूल्य २ लाख पाउण्डभन्दा धेरै अनुमान गरिएको छ जसको नेपाली रुपैयाँ करिब सवा ३ करोड हुन आउँछ ।

यो सिक्काका करिब ४ हजार कित्ता शेयर निर्धारित गरिएका छन् । यस हिसाबले प्रत्येक कित्ता शेयरको मूल्य करिब ५० पाउण्ड अर्थात ८ हजार रुपैयाँ पर्न आउँछ । कुनै पनि व्यक्तिले यो सिक्काको बढीमा १० प्रतिशत अर्थात ४०० कित्ता शेयर मात्रै किन्न पाउँछ ।

रिपोर्टका अनुसार यो सिक्का सन् १९३७ मा सार्वजनिक प्रयोगको लागि बजारमा आउँदै थियो । तर, त्यतिबेला एडवार्ड आठौंले अमेरिकाकी एक विधवा महिला वालिस सिम्पसनसँग बिहे गरे । यही कारण एडवार्ड आठौंले १९३६ मै बेलायतको राज सिंहासन त्याग्नु पर्यो । १९३७ मा उनी राजा नै नरहेपछि उनको तस्वीर अंकित यो सिक्का बजारमा आउन पाएन ।

त्यसपछि सन् १९७८ मा यी तामाका ५० प्याटर्न सिक्कामध्ये एउटा सिक्का २५ हजार पाउण्डमा बेचियो । २०१९ सम्म यो सिक्काको मूल्य बढेर १ लाख ३३ हजार पाउण्ड पुगेको थियो । अब शोपिस डटकमले २ लाख पाउण्डमा यो सिक्काको बिमा गराएको छ । अब यो सिक्काको शेयर ८ मार्चदेखि बिक्री सुरु हुनेछ ।

शोपिस डटकमका सहसंस्थापक ड्यान कार्टरका अनुसार यो सिक्काको साथमा एक इतिहास जोडिएको छ जसले मानिसहरुलाई आकर्षित गर्नेछ । उनका अनुसार यो सिक्काको विषयमा धेरै मानिसहरुले रुचि देखाइरहेका छन् । यद्यपि मानिसहरुले यसको आंशिक स्वामित्व मात्रै पाउनेछन् । अर्कोतर्फ आगामी दिनमा यो सिक्काको मूल्य बढ्न पनि सक्छ र कम पनि हुन सक्छ ।

एडवार्ड आठौंसँग सम्बन्धित कैयौं सामान पछिल्लो दिनमा निकै महंगो मूल्यमा बिक्री भइरहेका छन् । जनवरी २०२० मा एडवार्ड आठौंको तस्वीर अंकित सुनको सिक्का १० लाख पाउण्डमा बिक्री भएको थियो । यो सिक्का बेलायतकै एक व्यक्तिले किनेका थिए । एडवार्ड आठौं अहिलेकी महारानी एलिजाबेथ द्वितीयका ठूलोबुवा हुन् । राजा जर्ज पाँचौंको निधनपछि उनका जेठा सन्तान एडवार्ठ आठौं राजा भएका थिए । तर, उनले विवाह गर्नकै लागि गद्दी त्यागेको र उनका सन्तान नभएका कारण एलिजाबेथका पिता जर्ज छैटौं राजा भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *