३० वर्षदेखि जंगलमा बाँचिरहेका ७९ वर्षका वृद्धको कथा, यसकारण जंगललाई घर बनाए

डिसी नेपाल
१० फागुन २०७८ १२:४६
36
Shares

काठमाडौं। सिंगापुरको नाम सुन्नासाथ हाम्रो दिमागमा भव्य र गगनचुम्बी भवनहरु आउँछन् । तर, यी गगनचुम्बी महलहरुका बीच एक व्यक्ति यस्ता पनि छन् जो सहरको हर सुविधा छोडेर घना जंगललाई आफ्नो घर बनाएर बसेका छन् । ओ गो सेंलाई भेट्नासाथ जुन पहिलो कुरा तपाइँलाई मन पर्नेछ त्यो हो उनको आँखाको चमक । सेंगको उमेर भलै ७९ वर्ष भइसक्यो तर देखिँदा उनी आफूभन्दा आधा उमेरकाहरुलाई टक्कर दिन्छन् ।

यो महिनाको सुरुवातमा ओ गो सेंग जंगलमा बसिरहेको खबर सिंगापुरमा भाइरल भयो । धेरै मानिसहरुले यो थाहा पाएर आश्चर्य व्यक्त गरिरहेका थिए । केही मानिसहरुले प्रश्न गरे कि उनलाई केही सहयोग किन दिइएन । केहीले यो कुरामा आश्चर्य व्यक्ति गरिरहेका थिए कि कसरी विगत ३० वर्षमा कसैको ध्यान सेंगप्रति गएन ।

यो सबको सुरुवात क्रिसमसमा भयो जब सेंगलाई केही अधिकारीहरुले रोके । त्यतिबेला सेंगले बिना लाइसेन्स सामान बेचिरहेको पाइयो । महामारीका कारण बजारमा फूल बेच्ने काम बन्द भएकाले सेंगले आफूले उब्जाएका साग र खुर्सानी बेचिरहेका थिए । सेंगलाई लाग्छ एक ग्राहकले करिब १ सिंगापुरी डलरको सामानका विषयमा भएको बहसपछि उनको उजुरी गरेको हुन सक्छ । सेंग र पुलिस अधिकारीहरुको बहसका क्रममा एक समाजसेवी त्यहीँबाट जाँदै थिइन् । उनले देखिन् अधिकारीहरुले सेंगका तरकारी जफत गरेका थिए ।

भिभियन पेंगका अनुसार उनलाई सेंगको तर्फबाट रिस उठ्यो । उनी भन्छिन् ‘म चाहन्नथें कि सेंग त्यस दिन खाली हात घर फर्कुन । तर मलाई थाहा छ कि कानुनी रुपमा उनी सडकमा केही बेच्न पाउँदैनन् ।’ भिभियनले यो पूरै घटनाको भिडियो बनाएर फेसबुकमा पोस्ट गरिन् जुन भाइरल भयो । त्यसपछि सेंगको समस्याबारे स्थानीय सांसदलाई जानकारी गराइयो । तर त्यतिबेला सांसद लियांग एंग वालाई थाहा भयो कि सेंगको कहानी योभन्दा कैयौं ठूलो छ ।

सेंग सनगेइ तेंगाह नामको गाउँमा परिवारका साथ हुर्किएका थिए । १९८० को दशकमा अग्ला भवनहरु बजनउनको लागि यो गाउँलाई उजाडियो । अधिकांश गाउँलेहरुले सरकारको तर्फबाट नयाँ घर पाए तर सेंग यो घर पाउन असफल भए । सेंगका भाइले सरकारी फ्ल्याट पाएका थिए । उनलाई त्यहाँ बस्न आमन्त्रण पनि गरिएको थियो तर सेंगले यस्तो गरेनन् किनकि उनी परिवारको बोझ बन्न चाहँदैनथे । त्यसैले सेंग आफ्नो पुरानो घर नजिकै एक जंगलमा गए । त्यहाँ उनले दाउरा, बाँस र तिरपालबाट बनेको अस्थायी घरमा रात बिताउन सुरु गरे ।

यो अस्थायी घरतिर जाँदा तपाइँले ढोकानजिकै खरानी देख्नुहुन्छ । यो सेंगले खाना बनाएपछि जम्मा हुन्छ । बीचमा सेंगका केही सामान राखिएका छन् । पछिल्लो भागमा सेंग सुत्छन् । सेंगको पालको नजिकै एउटा करेसाबारी छ जहाँ उनी तरकारी उब्जाउँछन् । उनको पालमाथि विशाल कटहरको रुखले पर्याप्त छायाँ दिन्छ जसले उनलाई सिंगापुरको प्रचण्ड गर्मीमा पनि राहत दिन्छ । सेंगका अनुसार एक्लोपन उनको लागि कहिल्यै समस्या भएन । उनी आफ्नो करेसाबारीको हेरचाहमा आफूलाई व्यस्त राख्छन् । उनका अनुसार जंगलमा उर्वर जमिनले उनको एक्लोपनलाई सजिलो बनायो ।

सेंगका अनुसार जंगलमा बस्दा हुने सबैभन्दा ठूलो समस्या यहाँका मुसा हुन् । यी मुसा कुनै तरिकाले उनको पालभित्र पसेर कपडा काटिदिन्छन् । सेंगले मौका पाउँदा साना तिना जागिर पनि गरे । कहिलेकाहीँ सेंग आफूले जम्मा गरेको पैसाबाट डुंगा चढेर इण्डोनेसियाको सानो द्विप बाटम जाने गर्थे । यहीँ उनको भेट म्याडम तसिचसँग भयो । यी दुईकी उक छोरीपनि छिन् । हरेक हप्ता बाटम गए पनि सेंग सधैं सिंगापुरमा आफ्नो जंगलको पालमा फर्किइरहे । सेंगका परिवारका साथै उनकी पत्नी र छोरीलाई पनि थाहा थिएन कि उनी कुन हालतमा बसिरहेका छन् । उनकी छोरी अहिले १७ वर्षकी छिन् ।

उनका एक आफन्तका अनुसार जब कसैले सेंगसँग उनी कहाँ बस्छन् भनेर सोध्ने सेंगले भन्थे ‘बगैंचामा ।’ कोरोना महामारीका कारण सेंगको बाटम यात्रा बन्द भयो किनकि सिंगापुरले आफ्नो सीमा बन्द गरेको थियो र केवल उनीहरुले मात्र यात्रा गर्न पाउँथे जसले कोरोना जाँच र क्वारेन्टाइनमा बस्नको लागि पैसा तिर्थे । यद्यपि सेंगले अहिलेसम्म आफ्नो परिवारलाई आर्थिक सहयोग पठाउन जारी राखेका छन् । उनी हरेक महिना आफ्नो परिवारलाई ५०० देखि ६०० सिंगापुर डलर (४४ हजारदेखि ५३ हजार नेपाली रुपैयाँ) पठाउँछन् ।

सिंगापुरमा घरबिहीन हुनु निकै दुर्लभ हो । संसारका जुन ठाउँमा सबैभन्दा धेरै धनी बस्छन् तीमध्ये एक सिंगापुर पनि हो । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार शहरको कूल गार्हस्थ उत्पादन प्रतिव्यक्ति करिब ६० हजार डलर छ । स्थानीय सांसदको टिमको सहायताले यही फेब्रुअरीमा सेंगले नयाँ घर पाएका छन् ।सांसदका अनुसार उनको टिमले भविष्यमा पनि सेंगलाई सहयोग गर्न जारी राख्नेछ । उनका अनुसार सेंगलाई इण्डोनेसियामा रहेका उनकी पत्नी र छोरीसँग भेटाउन पनि सहयोग गरिनेछ ।

सेंगले जुन घर पाएका छन् त्यो एक बेडरुमसहितको फ्ल्याट हो । यसमा उनीसँग अर्का एक व्यक्ति पनि बस्छन् । घरमा अहिले त्यति धेरै सामान छैन । यो फ्ल्याटमा फ्रिज, टेलिभिजन, केतली र वाटर हिटर जस्ता केही सामान छन् जुन मानिसहरुले दानमा दिएका हुन् । सेंगलाई यीमध्ये सबैभन्दा धेरै वाटर हिटर मन पर्छ । उनलाई जंगलमा आफ्नो पालनजिकै कुवाको पानीको बानी थियो । अहिले उनलाई धाराको पानी धेरै चिसो लाग्छ ।

सेंगले अहिले ड्राइभरको पेसा अपनाइसकेका छन् । उनको काम विदेशी कामदारलाई एक ठाउँबाट अर्को ठाउँ लैजानु हो । तीन दशकभन्दा पनि धेरै समयपछि पहिलो पटक यस्तो भयो जब सेंगले सिंगापुरमा आफ्नो परिवारसँग लुनर इयर मनाए । उनी हाँस्दै भन्छन् ‘मैले निकै धेरै खाना खाएँ । धेरै यस्ता कुराहरु थिए जसको स्वाद वर्षौंदेखि चाखेको थिइन । यो सब निकै रामे थियो । मैले ३० वर्षपछि पहिलो पटक टिभी हेरें । मलाई धेरै आनन्द आयो ।’

सेंग अहिले फ्ल्याटमा बस्छन् तर अझै पनि उनलाई जंगलको स्वतन्त्रता याद आउँछ । उनी हकिन भाषामा भन्छन् ‘म त्यहाँ वर्षौंसम्म बसें त्यसैले स्वभाविक हो कि म जंगललाईै सम्झिन्छु । हरेक दिन बिहान ३ बजे उठ्छु, तयार हुन्छु त्यसपछि आफ्नो तरकारीहरु हेर्न जान्छु । यो सब म आफ्नो दैनिक काम सुरु गर्नुभन्दा पहिले नै गर्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *