अनि खार्ग टापु कब्जा गर्ने योजनाबाट पछि हटे ट्रम्प

डिसी नेपाल
६ वैशाख २०८३ १३:५१
896
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको ‘खार्ग टापु’ कब्जा गर्ने सैन्य योजनालाई अस्वीकार गरेका छन्।

वाल स्ट्रिट जर्नललगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो अपरेसनका क्रममा अमेरिकी सेनाले ठूलो संख्यामा मानवीय क्षति बेहोर्नुपर्ने र सैनिकहरू ‘सजिलो निशाना’ बन्न सक्ने डरले राष्ट्रपति ट्रम्पले यस्तो निर्णय लिएका हुन्।

इरानको करिब ९० प्रतिशत तेल निर्यातको मुख्य विन्दु मानिने खार्ग टापु कब्जा गरेर त्यसलाई आफ्नो नियन्त्रणमा राख्ने प्रस्ताव अमेरिकी सैन्य सल्लाहकारहरूले राष्ट्रपति ट्रम्प समक्ष राखेका थिए।

उनीहरूले यो नियन्त्रणले अमेरिकालाई हर्मुज जलडमरूको समुद्री मार्गमा थप प्रभाव पार्ने तर्क गरेका थिए। तर, राष्ट्रपति ट्रम्पले उक्त योजनामा गम्भीर आपत्ति जनाउँदै अमेरिकी सैनिकहरूको जीवनलाई जोखिममा पार्ने कुनै पनि ‘असुरक्षित’ सैन्य कदम नचाल्ने अडान लिएको स्रोतहरूको दाबी छ।

प्रतिवेदनहरूका अनुसार, राष्ट्रपति ट्रम्पले सो सैन्य योजनाबारे छलफल गर्ने क्रममा आफ्ना सहयोगीहरूसँग असन्तुष्टि पोख्दै उक्त टापुमा तैनाथ गरिने सैनिकहरू “सिटिङ डक्स” (सजिलै आक्रमणको निशाना बन्ने अवस्था) हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।

उनले सन् १९७९ को इरानको बन्धक संकट जस्ता ऐतिहासिक घटनाहरूलाई स्मरण गर्दै, यस्तो सैन्य कारबाहीले अमेरिकालाई अप्ठ्यारोमा पार्न सक्ने आकलन गरेका छन्।

पछिल्लो समय अमेरिका र इरानबीचको द्वन्द्व चुलिएका बेला ट्रम्पले आफ्नो सार्वजनिक भाषण र अभिव्यक्तिमा भने आक्रामक शैली अपनाउँदै आएका छन्। उनले इरानलाई दबाबमा राख्न विभिन्न कठोर विकल्पहरूको धम्की दिइरहेका भए पनि, रणनीतिक र व्यावहारिक रूपमा भने उनी प्रत्यक्ष सैन्य झडप र ठूलो मानवीय क्षति हुने अपरेसनबाट पछि हटेका हुन्। ट्रम्पको यो निर्णयले वाशिङ्टनको सैन्य रणनीति केवल दबाब सिर्जना गर्ने र कूटनीतिक रूपमा इरानलाई वार्ताको टेबुलमा ल्याउने उद्देश्यमा केन्द्रित रहेको संकेत गरेको छ।

अहिले ह्वाइट हाउसका अधिकारीहरूले खार्ग टापु कब्जा गर्ने योजना त्यागेर कूटनीतिक च्यानलमार्फत इरानसँग सम्झौता गर्ने प्रयासलाई तीव्रता दिएका छन्। दुई देशबीच मध्यस्थकर्तामार्फत भइरहेको यो वार्ताले केही दिनभित्रै सकारात्मक निकास दिन सक्ने आशा गरिएको छ। राष्ट्रपति ट्रम्पको यो कदमलाई सैन्य विश्लेषकहरूले ‘जोखिमपूर्ण सैन्य कारबाहीभन्दा कूटनीतिक दबाबलाई प्राथमिकता दिने’ रणनीतिका रूपमा अथ्र्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *