‘मलाई बाहिर निकाल!’ : १६ दिनसम्म भग्नावशेषमा पुरिएका एक व्यक्ति जीवितै फेला

डिसी नेपाल
६ वैशाख २०८३ १०:०६
1.9k
Shares

एजेन्सी| एउटा भग्नावशेषको थुप्रो, जहाँ जीवनको कुनै सम्भावना नरहेको भन्दै उद्धारकार्य अन्त्य गर्ने तयारी गरिँदै थियो, त्यहाँबाट आएको एउटा क्षीण आवाजले उद्धारकर्मीहरूलाई मात्र होइन, पूरै विश्वलाई चकित तुल्याएको छ। १६ दिनसम्म भग्नावशेषको खाडलभित्र पुरिएका एक व्यक्तिलाई उद्धारकर्मीहरूले निकै नाटकीय र चमत्कारिक ढंगले जीवितै उद्धार गरेका छन्।

घटनास्थलमा खटिएका एक उद्धारकर्मीका अनुसार, भग्नावशेषको गहिराइबाट निकै मसिनो स्वरमा एक आवाज सुनियो- “मलाई बाहिर निकाल!”।

याे घटना पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित मरदान जिल्लाको रुस्तम क्षेत्रकाे हाे। मार्च ३१ का दिन उक्त क्षेत्रको एक मार्बल खानीमा काम गरिरहेका कामदारमाथि अचानक पहाडको ठूलो भाग खस्दा ठूलो मानवीय क्षति भएको थियाे।

सुरुमा त्यो आवाज कुनै भ्रम हो कि भन्ने लागे पनि उद्धारकर्मीहरूले तत्कालै काम रोकेर आवाजको दिशा पछ्याएका थिए। उद्धार टोलीका सदस्यले भने, “हामीले त्यहाँ कसैको जीवित रहने आशा मारिसकेका थियौँ। तर जब त्यो आवाज हाम्रो कानमा पर्‍याे, हाम्रो शरीरमा काँडा उम्रेर आयो। हामीले केही मिनेटभित्रै भग्नावशेष पन्छाउने प्रयास गर्‍याैं र अन्ततः उनलाई फेला पार्‍याैं।”

चमत्कारिक बाँच्न सफल

१६ दिनसम्म अन्धकार, सीमित अक्सिजन र खानेकुराको अभावमा पनि ती व्यक्ति कसरी जीवित रहे भन्ने कुरा अहिले चिकित्सकहरूका लागि समेत अध्ययनको विषय बनेको छ। उद्धार गरिएका व्यक्तिलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालका प्रमुख चिकित्सकका अनुसार, ती व्यक्तिको अवस्था गम्भीर भए पनि खतरामुक्त रहेको छ। उनले भने, “पानीको अभावमा शरीरमा डिहाइड्रेसन (जलवियोजन) को समस्या देखिएको छ, तर उनको इच्छाशक्ति र बाँच्ने दृढताका कारण नै उनी १६ दिनसम्म जीवित रहन सफल भए। यो एक चिकित्सा चमत्कार हो।”

विश्वभर चर्चा

भग्नावशेषबाट जीवितै निकालिएका ती व्यक्तिको भिडियो र उद्धारको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। मानिसहरूले यसलाई ‘जीवनको विजय’ भन्दै उद्धार टोलीको साहसको प्रशंसा गरिरहेका छन्।

यस घटनाले विपद्को समयमा ‘आशा कहिल्यै नमर्नु’ भन्ने सन्देश दिएको छ। उद्धार टोलीले अहिले पनि अन्य कोही जीवित छन् कि भन्दै थप खोजी गरिरहेको छ।

यस घटनाले खानी क्षेत्रमा कार्यरत कामदारहरूको सुरक्षा र जोखिमपूर्ण कार्यशैलीका विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ। स्थानीय प्रशासनले घटनाको छानबिन सुरु गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *