सरकारी प्रक्रियालाई छलेर कामदार नपठाउन श्रममन्त्रीको आग्रह

डिसी नेपाल
१० फागुन २०७८ २२:५९
20
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारी प्रक्रियालाई छलेर कामदार विदेश पठाउन नहुने बताएका छन्।

स्थानीय तहका प्रमुखहरूसँग आज श्रम मन्त्रालयमा भएको छलफलमा उनले सरकारी प्रक्रियाभन्दा बाहिरबाट सम्झौता गरी कोरियालागयत अन्य देशमा कामदार पठाउन नहुने बताए ।

मन्त्री श्रेष्ठले कोरियामा कामदार आपूर्तिबारे कोरिया र नेपाल सरकारबीच समझदारी भएको स्मरण गराउँदै म्यादी कामदार पठाउन पनि सरकारीस्तरबाट टुङ्गो लगाउनुपर्ने बताए । स्थानीय तहका प्रमुखहरुले कोरियाका केही कम्पनीले आफ्नो क्षेत्रका युवालाई म्यादी कामदारका रूपमा लैजान प्रस्ताव गरेको सन्दर्भमा उनले त्यसो भनेका हुन् ।

म्यादी कामदार पठाउँदा भविष्यमा उनीहरूलाई कुनै समस्या परे कोरिया सरकार जवाफदेही नहुने हुनाले उद्धार र सहयोग गर्न असहज वास्तविकता प्रस्तुत गर्दै उहाँले दक्षिण कोरिया, जापान, क्यानाडालगायत युरोपेली मुलुकका कम्पनीबाट पनि म्यादी कामदारको माग भएको र त्यसबारे सरकारले शीघ्र निर्णय गर्ने जानकारी दिए । हाल सरकारले वैदेशिक रोजगारीमा म्यादी कामदारका रूपमा जान श्रम स्वीकृति दिएको छैन ।

छलफलमा व्यास नगरपालिका तनहुँका प्रमुख वैकुण्ठ अर्याल, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री, तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेलगायत थिए । मन्त्रालयका सचिव एकनारायण अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले म्यादी कामदार पठाउँदा आइपर्ने समस्याबारे मन्तव्य व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.