माओवादी निर्णय र कांग्रेसको कदममा अडिएको सरकार र गठबन्धनको भविष्य
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमीसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक भएको छ। यतिबेला नेपालको राजनीति एमसीसीको वरिपरी घुमिरहेको छ। एमसीसीमा नै सरकार र सत्तारुढ गठबन्धनको भविष्य पनि जोडिएको छ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ। तर अर्थमन्त्री शर्मा बुधबार नै उपत्यका बाहिर गएका छन्।
सरकारको मुख्य साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। प्रतिपक्ष नेकपा एमालेले आफूहरुको माग पूरा नभएसम्म संसदको अवरोध जारी राख्ने जनाएको छ।
सरकारमा सहभागी माओवादी र एकीकृत समाजवादीले सडकमा कार्यकर्ता खटाएर एमसीसीको विरोध गर्न लगाएका छन् भने संसदमा एमसीसी टेबल गर्न यसअघि नै सहमति जनाइसकेका छन्।
पार्टीले स्पष्ट नीति लिन नसक्दा कार्यकर्ता अन्योलमा छन्। उनीहरुले एमसीसी र सरकारको विषयमा स्पष्ट हुन नेतृत्वलाई दबाव दिन थालेका छन्। आजदेखि एमसीसीको विषयमा सदनमा छलफल हुनेछ।
प्रधानमन्त्री देउवा आफूले दिएको समयसीमा भित्र अर्थात फागुन १६ गतेसम्म संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन्। तर एमसीसी पारित गर्न कांग्रेससँग प्रयाप्त संख्या छैन, यस्तोमा सबैको ध्यान माओवादी केन्द्र र एकीकृत समाजवादीतर्फ सोझिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थितिको लागि निर्देशन दिइसकेको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने तर सरकारबाट नबाहिरिने पक्षमा छन्। उनीहरु वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म कायम रहोस भन्ने चाहन्छन्। तर सरकारको नेतृत्व गरेको कांग्रेसले एमसीसीको विपक्षमा मतदान गरे सरकारबाट हट्नुपर्ने सन्देश दिएको छ।
माओवादीले एमसीसीको बिषयमा आफ्नो ढुलमुले धारणा सार्वजनिक गरिहेको छ। उसले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताएको छ। तर सरकार र गठबन्धन छोड्ने मनस्थितिमा छैन। एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
एमाले एमसीसीलाई पर्ख र हेरको रणनीतिमा छ। एमाले आफू एमसीसीको सन्दर्भमा तटस्थ रहन खोजेको देखिन्छ। उसले संसद सचिवालयमा १४ जना सांसदलाई कारबाहीको लागि गरेको सिफारिसलाई सभामुख अग्नि सापकोटाले कारवाही नगरेको भन्दै सदन अवरोध गर्दै आएको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने तर सरकारबाट नबाहिरिने पक्षमा छन्। उनीहरु वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म कायम रहोस भन्ने चाहन्छन्। तर सरकारको नेतृत्व गरेको कांग्रेसले एमसीसीको विपक्षमा मतदान गरे सरकारबाट हट्नुपर्ने सन्देश दिएको छ।
प्रधानमन्त्री देउवा गठबन्धनका दलबाट विश्वस्त हुन नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग निरन्तर छलफलमा छन्। जसले माओवादी र एकीकृत समाजवादीमाथि दबाव बढेको छ। देउवाले कतै फेरि ओलीसँग सत्ता समीकरण गर्ने त होइनन् भन्ने उनीहरुलाई आशंका छ।
यदि ओलीलाई सत्ता सुम्पने स्थिति आएमा सत्ताधारी दलहरुलाई हिजो ओलीको बहिर्गमन र प्रतिगमनको आरोप मिथ्या साबित भई राजनैतिक रुपमा ओली र उनको कदमको औचित्य पुष्टि हुने र ओली झने बलियो बन्ने सम्भावना रहन्छ। ओली बलियो बनेमा आगामी निर्वाचनमा त्यसले प्रभाव पार्ने हुँदा माओवादी र एकीकृत समाजवादी त्यसलाई रोक्ने कसरतमा छन्।
माओवादी केन्द्रका युवा नेता बिमल अधिकारीले आगामी राजनैतिक परिदृश्य त्यसै देख्छन्। एमाले अध्यक्ष ओली र देउवा त्यसै दिशामा उद्धत भएकाले प्रचण्डले सरकार छोड्न ढिलाई गरेको उनको जिकिर छ। ‘अध्यक्षले बर्तमान गठबन्धन पनि कायम रहोस् र पुनः ओलीलाई सत्ता सुम्पने स्थिति नआवोस् भनेर नै यो टयाक्टिस् गर्नू भएको हो,’ उनले भने।
माओवादी रणनीति एमसीसी सदनमा टेबल गर्न दिने र संसदबाटै फेल गराउने रहेको उनले दाबी गरे। विपक्षमा मतदान नगरुन्जेलसम्म मात्रै सरकारमा रहन्छौं, मतदान गरेकै दिन सरकारबाट बाहिरिन्छौं,’ उनले भने। ।’
पार्टी नेतृत्वको अर्कमण्यताले कांग्रेससँगै सति जाने स्थिति आएको भन्दै कार्यकर्ता नेतृत्वप्रति आक्रोशित छन्।माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतले सरकारको विरोध गर्दै सरकारमा रहनु युक्तिसंगत नभएको बताए। उनले यस बिषयमा पार्टी नेतृत्वले बेलैमा उचित निर्णय लिनुपर्ने बताए।
‘सरकारमा रहने र प्रतिपक्ष जसरी प्रधानमन्त्रीको कदमको बिरोध गर्नु राजनैतिक कच्चापन हो, प्रधानमन्त्रीको प्रस्ताव भनेकै मन्त्रिपरिषदको प्रस्ताव हो त्यसैले मन्त्रीले बिरोध गर्ने अधिकार रहँदैन। बिरोध गर्ने भए सरकार छोड्नुपर्छ,’ उनले भने, ‘छिट्टै यो बिषयमा ठोस निर्णय आउने छ।’
माओवादी आन्दोलनमा लागेका हाल स्वतन्त्र रहेका बरिष्ठ बामपंथी विश्लेषक नरेन्द्र जंग पिटरले माओवादी केन्द्र अस्तित्व रक्षाको लागि गठबन्धन र सरकार दुवै छोड्न नसकेको डिसी नेपाललाई बताए।
‘उहाँहरुमा गठबन्धन र सरकार छोड्दा शक्तिहिन भइने र नजिकिएको निर्वाचनको त्रासले दुवै डुगांमा खुट्टा राखिरहनुभएको छ। एकातिर एमसीसी बिरोधीको रुपमा जनतामा देखिनु परेको छ भने देउवासँग पास गर्छु भनेर सरकारमा टिकिरहनु परेको छ,’ उनले भने, ‘तर यो अवस्था लामो समय जाँदैन उहाँहरुले एउटा निर्णय समयमै गर्नै पर्छ।’
उनले माओवादी केन्द्र सबैको निकट बन्न खोज्दा एक्लिने खतरा रहेको प्रष्ट्याए। सरकारमा रहने या बाहिरिने बिषयमा उचित निर्णय गर्न नसकेको माअोवादी केन्द्रले आगामी दिनमा अध्यक्ष प्रचण्डकोे उपयुक्त कदमको प्रतिक्षामा कार्यकर्ताहरु रहेका छन्।







डिसी नेपाल







Facebook Comment