युक्रेनको किभमा अण्डरग्राउण्ड शेल्टरमा बच्चा जन्मियो, मानिसहरुले भने ‘आशा जीवितै छ’
काठमाडौं। युक्रेनको किभमा रुसको आक्रमणपछि अण्डरग्राउण्ड मेट्रो स्टेशनमा लुकिरहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । २३ वर्षकी यी महिलाले छोरी जन्माएकी हुन् । यी महिलाले सिटी पुलिसको सहयोगमा आफ्नी छोरी मियालाई जन्म दिएको बेलायती अखबार द सनले जनाएको छ । मियाको जन्मपछिका तस्वीरहरु युक्रेनकी एक राजनीतिज्ञ हाना होप्कोले फेसबुकमा शेयर गरेकी छिन् ।
तस्वीर शेयर गर्दै डेमोक्रेसी इन एक्सनकी अध्यक्ष हानाले लेखेकी छिन् ‘मिया आज राती किभमा बम विष्फोट भइरहेको तनावपूर्ण अवस्थामा जन्मिएकी छिन् । उनकी आमा यो चुनौतीपूर्ण जन्म र तत्कालै शेल्टरमा जानुपर्दा पनि खुसी छिन् । जतिबेला पुटिनले युक्रेनीहरुलाई मारिरहेका छन् हामी रुसी र बेलारुसी आमाहरुलाई यो युद्धविरुद्ध प्रदर्शन गर्न आह्वान गर्दछौं । हामी जीवन र मानवताको समर्थन गर्दछौं ।’
हानाको अर्को फलोअप पोस्टमा अर्का एक बालकको जन्म भएको देखाइएको छ । होप्कोले यी तस्वीरहरु ती बालककी आमाको अनुमतिमा साझा गरिएको पुष्टि गर्दै यी बालकको जन्म खतरापूर्ण युद्धको तेस्रो दिन भएको बताएकी छिन् । यी बच्चाहरुको जन्मसँगै युक्रेनीहरुले आशा अझै जीवितै भएको प्रतिक्रिया दिएका छन् ।







डिसी नेपाल







Facebook Comment