नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

डिसी नेपाल
१८ फागुन २०७८ १५:०५

सिरहा। लामो समयको प्रतिक्षा पश्चात पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।

हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयवासीमा उत्साह बढेको हो । विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको थियो । उक्त पुल निर्माण लागि दबाबका लागि पटक–पटक स्थानीयवासीले धर्ना तथा अनशनसमेत गरेका थिए ।

निरन्तरको दबाब र धमाधम हुलाकी सडक कालोपत्र हुन थालेपछि निर्माण कम्पनीले पुल निर्माण अन्तिमचरणमा पु¥याएको सप्तरीको बलान बिहँुल गाउँपालिकाका स्थानीयवासी शिवदयाल यादवले जानकारी दिए । उनले भने, “अहिले बलान खोलको पुल ९५ प्रतिशत काम सम्पन्न भएकाले पुलमाथिबाट आवतजावतसमेत सुरु भइसकेको छ ।”

पुल नहुदाँ वर्षाैदेखि वर्षायाममा सर्वसाधारणले जोखिमपूर्णयात्रा गर्दै आएका सिरहाको भगवानपुरका सरोज साहले बताउनुभयो । बाटोमा माटो ग्राभेलको काम नभएकाले सडक हिलाम्मे बन्दै गएको उनको भनाइ छ ।

चार सय ७० मिटर लम्बाई पश्चिमबाट १६ स्पान र पूर्वबाट १२ स्पान रहेको नवनिर्मित बलान नदीको पुलको उद्घाट्न औपचारिक रुपमा नभए पनि निर्माण सम्पन्न भएकाले सवारीसाधन चल्न थालेका छन् । पुल निर्माणले बलान नदीको पूर्व सप्तरीको बलानबिहँुल गाउँपालिकाको चन्ही र पश्चिम सिरहाको भगवानपुर गाउँपालिकाको कल्याणपुर र भगवानपुरवासीका लागि युग नै परिवर्तन भएको स्थानीयवासीको भनाइ छ ।

यस्तै पूर्व राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब २० किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभिका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताए । करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *