सरकारले फेरि किन दियो निलो प्लेटको सुविधा?

डिसी नेपाल
१९ फागुन २०७८ ११:१५
208
Shares

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसमा माथिल्लो हैसियत बनाउन सफल व्यापारी विनोद चौधरीलगायतको दबावमा सरकारले विदेशी महावाणिज्य दूतलाई निलो नम्बर प्लेटको सुविधा फेरि दिएको छ।

२०७६ साल चैत २५ गते शंकर ग्रुपका अध्यक्ष सुलभ अग्रवालले कुटनीतिक नियोगको गाडी प्रयोग गरेर कालो बजारी गरेको पाइएपछि महानगरीय प्रहरीले पक्राउ गरेको थियो। उनी कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूतसमेत थिए। अग्रवाल पक्राउ परेपछि सरकारले अवैतानिक दूतलाई निलो नम्बर प्लेटको सवारी साधन दिन स्थगन गरेको थियो।

तर वर्तमान सरकारले केही व्यापारीको दबावमा अवैतानिक महावाणिज्य दूतलाई निलो नम्बर प्लेटको सवारी साधन दिने निर्णय गरेको हो।
तस्करी गर्ने व्यापारीलाई विदेशी महावाणिज्य दूतको सुविधा दिँदा त्यसको दुरुपयोग भएको भन्दै आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले उक्त सुविधा स्थगन गरेको थियो।

तर एउटाले गरेको गल्तीको सजाय अरुलाई किन दिनु भन्दै व्यापारीहरुले दबाव दिएपछि सरकारले उक्त अवैतानिक महावाणिज्य दूतलाई निलो नम्बर प्लेटको सुविधा दिन थालेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘विगतमा केही गैरकानुनी काम भएपछि अघिल्लो सरकारले अवैतानिक महावाणिज्य दूतलाई दिने सुविधा स्थगन गरेको थियो,’ परराष्ट्रमन्त्री डा. नारायण खड्काका स्वकीय सचिव लिला भट्टराईले डिसी नेपालसँग भने, ‘जसले गल्ती गर्छ सजाय पनि उसैले पाउनुपर्छ भन्ने सिद्धान्त अनुसार अहिले अवैतानिक महावाणिज्य दूतले पाउने सुविधालाई निरन्तरता दिइएको हो।’

राजश्व छलेका, गैरकानुनी आयआर्जन गरेका, धन सम्पत्तिको गैरकानुनी सप्लाई र प्रयोग समेतका आधारमा जसरी भएपनि यस्तो हैसियत प्राप्ति गर्ने र शानसँग डिप्लोम्याटिक नीलो प्लेट र झण्डा, भन्सार फ्रिको संसारभरीको महंगो गाडी चढ्ने र गाडीको दुरुपयोग वा गैरकानुनी काममा त्यस्तो गाडीको प्रयोग गर्ने नेपाली व्यापारी घरानाको संस्कार नै बनिसकेको बताउँछन् लेखक तथा विश्लेषक जगदीश दाहाल।

सरकारले अवैतनिक विदेशी दूतको इजाजत प्रदान गर्दा स्वतन्त्र वौद्धिक वर्गका वरिष्ठ व्यक्तिहरु, जो सामाजिक अभियन्त, समाज, राष्ट्र, कानुन, आदर सम्मानको पालना गर्न सक्ने व्यक्ति हेरेरमात्रै सहमति प्रदान गरिनुपर्ने बताउँछन् दाहाल।

‘शंकर ग्रुपका अध्यक्ष सुलभ अग्रवालजस्ता अन्य कति छन् विदेशी दूत? एउटै परिवारका तीन जनासम्म पनि विदेशी अवैतानिक दूत भएका दृष्टान्त छन्। चौधरी परिवारमा कुनै न कुनै मुलुकका प्रतिनिधि दूतको रुपमा दाजु–भाइ बाबु–छोरा सबै छन्,’ उनले भने, ‘त्यस्तै खेतानमा पनि छन्, गोल्छामा छन् र अग्रवालमा पनि छन्। संघाइमा पनि होलान्। उपत्यकाबासी नेवारी समुदायका व्यापारीमा पनि होलान्। पञ्चकन्या समूहमा पनि होलान्। ज्योति ग्रुपमा छन्।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.