पीपीएल क्रिकेटको सेमिफाइनल खेल सम्पन्नः कैलपाल र पाटन फाइनलमा प्रवेश
बैतडी । बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको सेमिफाइनल खेल आज सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा कैलपाल क्रिकेट क्लब र दोस्रोमा आयोजक पाटन क्रिकेट क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।
ग्वाल्लेक क्रिकेट क्लबलाई १३७ रनले पाखा लगाउँदै कैलपाल उपाधि नजिक पुगेको हो । कैलपालले दिएको २३८ रनको विशाल लक्ष्य पन्छाएको ग्वाल्लेक ९।२ ओभरमा मात्र १०० रनमा समेटियो । उसका लागि पिताम्बर जोशीले ३१ र पञ्कज जोशीले २१ रन जोडे । कैलपालका सन्तोष चन्दले ४ र मुकेश चन्दले ३ विकेट लिए ।
त्यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कैलपाल १९।२ ओभरमा २३७ रनमा अलआउट भयो । जसमा प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै ६६ तथा वीरेन्द्र चन्दले ४१ रन हिर्काए । ग्वाल्लेकका पिताम्बर जोशीले ३ तथा वीरेन्द्र बोहरा र दीपक जोशीले २÷२ विकेट हात पारे । खेलका म्यान अफ द म्यान कैलपालका प्रदीप चन्द चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए ।
अर्को सेमिफाइनलमा पाटन क्रिकेट एकेडेमीलाई १२८ रनले हराउँदै आयोजक पाटन क्रिकेट क्लब पनि फाइनलमा पुगेको छ । क्लबले दिएको १७५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको एकेडेमीले ८।२ ओभरमा मात्र ४६ रनमा अलआउट भयो । हरिश विष्टले सर्वाधिक १८ रन जोडे पनि अन्य ब्याट्सम्यान नचल्दा एकेडेमी सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको क्लबले निर्धारित २० ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै १७४ रन जोड्न सफल भयो । जसमा प्रकाश बुडालले ४३ र सन्नी विष्टले ३१ रन बनाए । एकेडेमीका सन्तोश जोशीले ४ र शुशांक चन्दले ३ विकेट झारे । क्लबका लागि उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका सन्नी विष्ट म्यान प्लेअर अफ द म्याच घोषित भए ।
उपाधिका लागि कैलपाल क्रिकेट क्लब र आयोजक पाटन क्रिकेट क्लबबीचको भिडन्त शुक्रबार बिहान १० बजे हुनेछ । उपाधि विजेताले ५५ हजार ५५५ र उपविजेताले २२ हजार २२२ नगतसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए । पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता छ ।







डिसी नेपाल







Facebook Comment