प्रहरीमा थपिएको नयाँ ३ वटा दर्जामा बढुवा प्रकिृया शुरु

डिसी नेपाल
११ चैत २०७८ १८:११
128
Shares

 

काठमाडौँ । नेपाल प्रहरीमा तल्लो तहमा थपिएको दरबन्दीको बढुवा प्रकिृया शुरु भएको छ । प्रहरी नियमावली, २०७१ लाई नवौँ संशोधन गरी थपिएको दरबन्दीमा विहीबारबाट बढुवा प्रकिृया शुरु भएको हो ।

यी पदमा दरबन्दी सृजना गर्न मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ लाई संशोधन गरी ‘प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित भएको थियो । त्यही अनुसार पहिलो चरणमा बिहीबार मात्रै बढुवा सिफारिस भएको हो ।

यो निर्णयपछि तल्लो तहका प्रहरी कर्मचारीमा छाएको निराशालाई केही हदसम्म कम गर्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ । प्रहरी जवान र हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायव निरीक्षक पद थपिएको थियो ।

गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार चार सय १९ प्रहरीको बढुवा हुनेछ ।

उनका अनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक हजार चार सय १८ जना, प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा तीन हजार सात सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार दुई सय ५३ जना बढुवा हुनेछन् ।

यी मध्य पहिलो चरणमा बिहिबार प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक सय ९१ जना, प्रहरी वरिष्ठ हवल्दारमा एक हजार एक सय ७३ जना तथा प्रहरी सहायक हवल्दारमा एक हजार सात सय ५२ जना बढुवा सिफारिस भएका छन् ।

दरबन्दी सिर्जना भए अनुरुप क्रमश बढुवा गर्दै लैजाने प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ । बढुवा गर्न समस्या भएपछि केही दिन अघि नियमावली संशोधन गरी एक पटकलाई ज्येष्ठताका आधारमा बढुवा गर्ने व्यवस्था गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *