अमेरिकी सेना र नेपाली सेनाबीच सूचना साझेदारी बढाउने सहमति

डिसी नेपाल
१६ चैत २०७८ १०:३९
1.1k
Shares

काठमाडौं। नेपाली सेना र अमेरिकी स्थल सेनाका बीचको दुईपक्षीय वार्ता अमेरिकाको हवाईमा सम्पन्न भएको छ।

युएस आर्मी प्यासिफिकको सामाजिक सञ्जालमा प्रकाशित गरिएको जानकारीअनुसार, दुई देशका उच्चपदस्थ सैनिक अधिकारीहरुबीचको वार्तामा इण्डो प्यासिफिक क्षेत्रका सुरक्षा चुनौती र सैनिक प्राथमिकताका विषयमा छलफल भएको छ।

रक्षामन्त्रालयका उच्चअधिकारीसमेत सामेल भएको मार्च २० तारिकदेखि २५ तारिकसम्म चलेको दुई देशका सेनाबीचको सो वार्तामा खुल्ला र स्वतन्त्र इण्डो प्यासिफिक क्षेत्र बनाउनका लागि भारपर्दो सूचना आदान प्रदानमा साझा सहमति भएको छ।

अमेरिकी सेनाद्वारा जारी विवरणमा भनिएको छ,‘ स्वतन्त्र र खुल्ला इण्डो प्यासिफिकको समर्थनमा अधिक सूचना साझेदारीमार्फत दक्षता बढाउने र थप सहयोगका लागि नयाँ अवसरहरु पत्ता लगाउने कुरामा दुई सेनाबीच सहमति भएको छ।’

वार्तामा नेपाली सेनाको नेतृत्व उपरथी अशोक सिग्देलले गरेका थिए। सो टोलीमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकृतहरु सहित ११ जना उच्च पदस्थ सैनिक अधिकृतहरु सहभागी थिए।

अमेरिकाले एशिया प्यासिफिक क्षेत्रका लागि इण्डो प्यासिफिक रणनीति लागू गरेको केही बर्ष भइसकेको छ। सो रणनीतिको मूल विषय नै खुल्ला र स्वतन्त्र इण्डो प्यासिफिक क्षेत्र बनाउनु हो। यसको अर्थ यो क्षेत्रमा कुनै अन्य मुलुकको हस्तक्षेप नहोस् भन्ने हो।

एशियाको मुख्य शक्तिशाली राष्ट्र चीन एशिया प्रशान्त क्षेत्रमा आर्थिक, राजनीतिक र सैनिकरुपले नै अघि बढ्न थालेपछि चीनको सो फैलावटलाई रोक्न अमेरिकाले इण्डो प्यासिफिक रणनीति तर्जुमा गरी लागू गर्दै आएको छ।

यो क्षेत्रका देशहरुमा अरुको प्रभाव नहोस् र यी देशहरु स्वतन्त्ररुपमा परिचालित हुन सकुन् भन्ने उदेश्य अमेरिकी इण्डो प्यासिफिक रणनीतिको रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.