नेपाल जितको निरन्तरता दिन चाहन्छ, मलेसियालाई जित्नै पर्ने दबाब

डिसी नेपाल
१९ चैत २०७८ ९:४५
144
Shares

काठमाडौं। त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) मलेसियाको सामना गर्दा नेपाल सतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा मलेसिया भने निकै दबाबमा हुनेछ। आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ।

यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ। नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङगो लगाउने छ। नेपालले मलेसियालाई हराएमा पपुवा न्यु गिनी(पिएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ।

पीएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ। दोस्रो स्थानको पीएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पीएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो।

मलेसियाविरुद्धको खेलमा प्रशिक्षक पुबुदु दसानायकेले बिहीबार पिएनजीविरुद्ध उतारेको टोलीलाई नै निरन्तरता दिने प्रबल सम्भावना छ। सो खेलमा दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका थिए भने डेब्यु खेलमै आदिल आलमले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३१ रन बनाएका थिए।

बलिङतर्फ तीव्र गतिका बलर करण केसी ह्याट्रिकसहित पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले ट्वान्टी-२० क्रिकेटमा ५० विकेट समेत पूरा गरेका थिए ।

यता नेपालविरुद्धको पहिलो खेलमा मात्र ११४ रनमा समेटिएको मलेसिया उच्च प्रदर्शनका साथ फाइनलमा स्थान बनाउन चाहन्छ । पीएनजीविरुद्धको पहिलो भेटमा जित निकालेको मलेसिया शुक्रबार भने बलियो योगफलका बाबजुद निराश भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *