को बन्ला पाकिस्तानको नयाँ प्रधानमन्त्री ? भोलि संसदमा नयाँ प्रधानमन्त्री चुनिने

डिसी नेपाल
२७ चैत २०७८ ८:१२
148
Shares

काठमाडौं । पाकिस्तानको नेशनल एसेम्बलीमा अविश्वासको प्रस्ताव सफल भएपछि प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिरिएका छन् । शनिबार राति नेशनल एसेम्बलीमा उनको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो, जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए।

इमरान खानले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका छन् । उनले नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका छन् । पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो ।

यसपछि सोमबार पाकिस्तानी संसदको महत्वपूर्ण सत्र हुँदैछ जसमा नयाँ प्रधानमन्त्रीको चयन हुने भएको छ । नयाँ प्रधानमन्त्रीले आगामी निर्वाचनसम्म अर्थात् अक्टोबर २०२३ सम्म पदभार ग्रहण गर्नेछन्। विधानसभामा सफल अविश्वास प्रस्ताव पछि सदनलाई सम्बोधन गर्दै पीएमएल-एनका अध्यक्ष शाहबाज शरीफले आज पाकिस्तान संविधान र कानूनको पुनर्स्थापना गर्न चाहेको बताए ।

पीएमएल-एनका अध्यक्ष शाहबाज शरीफले आफुहरूले कसैसँग बदला नलिने तर कानूनले आफ्नो बाटो लिने बताएका छन्। नेशनल एसेम्बलीमा अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले अप्रिल १० को ऐतिहासिक महत्व रहेको बताए ।

उनले सदनलाई १९७३ को अप्रिल १० मा पाकिस्तानको संविधान पारित गरिएको स्मरण गराए । उनले भने, “पुरानो पाकिस्तानमा स्वागत छ!”

अर्कोतर्फ पाकिस्तानका महान्यायाधिवक्ता खालिद जावेद खानले राजीनामा दिएका छन् । नेशनल एसेम्बलीका अध्यक्ष असद कैसरले पनि मतदानअघि नै आफ्नो पदबाट राजीनामा दिएका छन् ।असद कैसरपछि अब पीएमएल-एनका नेता अयाज सादिकले राष्ट्रिय सभाको अधिवेशनको अध्यक्षता गरिरहेका छन् ।

असद कैसरले भने, ‘स्थानीय यथार्थ र घटनाक्रमलाई ध्यानमा राखेर मैले निर्णय गरेको छु । म प्रतिपक्षी दलको नेतालाई अनुरोध गर्छु कि जुन कागजात मसँग आइपुगेका छन् तिनीहरूलाई मेरो कार्यालयमा राखियोस्, म तिनीहरूलाई, सर्वोच्चमा पठाउनेछु । म देशको सार्वभौमसत्ताको लागि उभिनुपर्छ र म अब अध्यक्ष बन्न नसक्ने निर्णय गरेको छु ।’

योसँगै पीएमएलएन नेता शाहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री हुने विश्वास गरिएको छ । शाहबाज सरिफ हाल पाकिस्तानको राष्ट्रिय सभामा विपक्षी दलको नेता छन्। यस सम्बन्धमा सोमबार संसदको बैठक बोलाइएको छ । यही बैठकमा नयाँ प्रधानमन्त्रीको छनोट हुन सक्नेछ ।

नेशनल एसेम्बलीका कार्यवाहक अध्यक्ष अयाज सादिकले भनेका छन् कि उम्मेदवारहरूले स्थानीय समय अनुसार आइतबार ११ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

पाकिस्तान क्रिकेट टोलीका कप्तान रहेका इमरान खान सन् २०१८ मा देशको प्रधानमन्त्री बनेका थिए र भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्र सुधार गर्ने वाचा गरेका थिए।

तर आर्थिक संकटले घेरिएको पाकिस्तानका लागि कठिनाइ बढेको छ । गत मार्चमा उनको पार्टीका धेरै नेताहरुले पार्टी छाडेका थिए, त्यसपछि उनको लागि नयाँ राजनीतिक संघर्ष सुरु भएको थियो ।

बीबीसी संवाददाता सिकन्दर किरमानी भन्छन् कि इमरान खानलाई पाकिस्तानी सेनाको समर्थन रहेको विश्वास गरिन्छ तर अब पर्यवेक्षकहरूले सेनासँग उनको दूरी बढेको बताएका छन्।

इमरान खानले बारम्बार देशको विपक्षीले विदेशी शक्तिसँग मिलेर काम गरिरहेको आरोप लगाउँदै आएका छन् । रुस र चीनको मामिलामा आफूले अमेरिकासँग उभिन इन्कार गरेको त्यसपछि अमेरिकाको नेतृत्वमा सत्ताबाट हटाउने षडयन्त्र रचिएको उनको भनाइ छ ।

अमेरिकाले इमरान खानको कुरामा ‘कुनै सत्यता नभएको’ भन्दै उनले यसको पक्षमा कुनै प्रमाण नदिएको बताएको छ। युक्रेन विरुद्धको युद्ध सुरु भएपछि इमरान खान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका थिए ।

यस विषयमा मरियम नवाजले ट्वीट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘नवाज शरीफ साहब, हरेक दबाबमा तपाईको धैर्यको जित भयो ।’ नयाँ सरकारका लागि तेलको मूल्य सबैभन्दा ठूलो चुनौती हुने फैसल सब्जवारी बताउँछन् ।

नेशनल एसेम्बली सदस्य मोहसिन डावरले सन् २०१८ मा हामीमाथि थोपरिएको यो हाइब्रिड सरकारबाट आजबाट मुक्ति पाएको बताए । बैसाखीको सहारा लिएर सत्तामा आउन खोज्ने सरकारको नियति यही भएको उनले बताए । उनले पछिल्लो तीन वर्ष मिडिया र राजनीतिक कार्यकर्ताका लागि सबैभन्दा खराब रहेको बताए ।

पीटीआईका अली मोहम्मद खानले भने, “म खुसी छु कि म जसको साथमा उभिएको छु उसले सरकारको बलिदान दिएको छ, तर दासत्व स्वीकार गरेन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *