पुटिनको अचानक भ्रमणले जापान र रूसबीच विवाद चर्कियो

डिसी नेपाल
२८ साउन २०८३ १३:४४

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अचानक जापानले आफ्नो दाबी गर्दै आएको एउटा यस्तो टापुमा पुगेका छन्, जसलाई लिएर दुवै देशबिच दशकौँदेखि विवाद चल्दै आएको छ।

रुसी सञ्चारमाध्यमका अनुसार पुटिन कुरिल टापु समूहको ‘इतुरुप’ अर्थात् ‘एतोरोफु’ टापु पुगेका हुन्। यो क्षेत्र जापानको होक्काइडो टापुको उत्तरमा अवस्थित छ र हाल रुसको कब्जामा रहेको छ, तर जापानले भने यसलाई आफ्नो उत्तरी भूभाग मान्दै आएको छ।

राष्ट्रपति पुटिनको यो भ्रमण यसकारण पनि महत्त्वपूर्ण छ किनभने दोस्रो विश्वयुद्धपछि रुस र जापानबिच अहिलेसम्म औपचारिक शान्ति सम्झौता हुन सकेको छैन र यस सीमा विवादलाई त्यसको मुख्य कारण मानिन्छ।

राष्ट्रपति पुटिनले इतुरुपस्थित ‘यास्नी फिस प्रोसेसिङ प्लान्ट’ (माछा प्रशोधन केन्द्र) को अवलोकन गरे। रुसी सरकारी समाचार संस्था तासका अनुसार कुरिल टापु समूहमा पुटिनको यो पहिलो व्यक्तिगत भ्रमण हो।

उनले स्थानीय अधिकारीहरूसँग भेटघाट गर्नुका साथै माछा उत्पादनसँग सम्बन्धित गतिविधिहरूको अवलोकन गरे। एक कार्यक्रमका क्रममा उनले स्थानीय मौसमको प्रशंसा गर्दै यसलाई रिसोर्टजस्तै रहेको टिप्पणी गरे। यस क्रममा उनले स्थानीय माछा र ‘क्याभियार’ को समेत सोधपुछ तथा अवलोकन गरेका थिए।

पुटिन इतुरुप पुगेलगत्तै जापानले तत्कालै औपचारिक विरोध जनाएको छ। जापानका परराष्ट्रमन्त्री तोसिमित्सु मोतेगीले एतोरोफुसहितका उत्तरी क्षेत्रहरू ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुनका आधारमा जापानको अभिन्न अङ्ग भएको बताए।

उनले रुसी राष्ट्रपतिको भ्रमणलाई लिएर जापानका तर्फबाट कडा विरोध दर्ता गराएका छन्। यो भ्रमणले दुई देशबिच पहिलेदेखि नै कायम क्षेत्रीय विवादलाई अझ बढाउन सक्ने अनुमान गरिएको छ।

पुटिनको इतुरुप भ्रमण यस्तो समयमा भएको छ जब रुसको सुदूर पूर्वी क्षेत्रमा ठूला नौसैनिक सैन्य अभ्यासहरू भइरहेका छन्। यसको एक दिनअघि रुसको सहयोगी राष्ट्र उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी समुद्री क्षेत्रतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। यो परीक्षण दक्षिण कोरिया र अमेरिकाको प्रस्तावित संयुक्त सैन्य अभ्यासको केही दिनअघि भएको हो, जसको प्योङयाङले निरन्तर विरोध गर्दै आएको छ।

रुस, उत्तर कोरिया र चीनबिच बढ्दो रणनीतिक निकटता र जापानसँगको क्षेत्रीय विवादका बिच पुटिनको यो टापु भ्रमण एसिया-प्रशान्त क्षेत्रमा सैन्य तनाव पहिले नै बढिरहेका बेला भएको हो। यद्यपि, यो भ्रमणलाई सोझै नयाँ सैन्य भिडन्तको सुरुवात मान्नु हतार हुनेछ, तर यसले रुस-जापानबिचको पुरानो भूराजनीतिक विवाद र यस क्षेत्रको सुरक्षा चिन्तामाथिको बहसलाई भने पुनः तीव्र बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *