कर्णालीमा भागबन्डा मिलाउन गठबन्धन निर्णायक छलफलमा

डिसी नेपाल
२ वैशाख २०७९ १३:५३
108
Shares

सुर्खेत। सत्तारुढ दलहरू भागबन्डाको लागि निर्णयक छलफल सुरु गरेका छन्। कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।

डोल्पालगायत अन्य केही जिल्लामा समस्य भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए। रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्य देखिएको छ।

सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दश शर्माको क्षेत्र भएकाले बल मिच्याइँ गरेको अन्य सत्तारुढ दलको आरोप छ। आरोपकै बीचमा अहिले गठनबन्धनको छलफल चलिरहेको छ। त्यहाँको समस्या र पार्टीको अन्तरिक परिपत्रका विषयमा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसी रुकुम पश्चिममा गएका छन्।

इन्चार्ज कालीबहादुर मल्ल जाजरकोटमा छन्। पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटमा छन्। कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) हुम्लामा छन्।

कांग्रेस नेताहरूले शुक्रबार बिहानसम्ममा आफ्नो दलभित्र आन्तरिक तयारी गरेर मात्र अहिले गठबन्धनको बैठकमा सहभागी भएको जाजरकोट कांग्रेस सभापति बेदराज सिंहले बताए । कांग्रेसका केन्द्रीय स्तरका नेताहरू जिल्ला, जिल्लामा खटिएका छन्।

केन्द्रीय सर्कुलरअनुसार नै मतभारका साथै अन्य कुराहरू हेरेर छलफल सुरु भएको उनले बताए। प्रतिपक्ष दल नेकपा एमालले अधिकांश ठाउँमा उम्मेदवार टुंगो लगाएको बताएको छ।

बाँकी ठाउँमा गृहकार्य भइरहेको नेता यमलाल कंडेलले बताए। ३ वैशाखभित्र जिल्लाले सहमति गरेर प्रदेशमा सहमतिको खाका पठाउनेछन्। जिल्लाले पठाएको सहमतिको खाका प्रदेशले अध्ययन गरेर ५ वैशाखभित्र केन्द्रमा पठाउने निर्णय गठबन्धनभित्र म्यान्डेट छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.