पूर्वी अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा परी कम्तीमा ४७ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानले अफगानिस्तानको पूर्वी भागमा हवाई आक्रमण गरिरहेको छ । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार अफगानिस्तानको खोश्त र कुनार प्रान्तमा भएका यी आक्रमणका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
खोश्तका एक शीर्ष अधिकारी शाबिर अहमद उस्मानीले पाकिस्तानी हवाई हमलामा ४१ जना सर्वसाधारणको मृत्यु भएको र २२ जना घाइते भएको बताए । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खोस्तका अन्य दुई अधिकारीले पनि मृत्यु हुनेको पुष्टि गरेका छन् । अर्का अफगान अधिकारीले कुनार प्रान्तमा ६ जनाको मृत्यु भएको बताए ।
पाकिस्तानको विदेश मन्त्रालयले अफगानिस्तानको भूभाग पाकिस्तान भित्र आतंक फैलाउन प्रयोग भइरहेको बताएको छ । मन्त्रालयका अनुसार विगत केही महिनादेखि पाकिस्तानले अफगान तालिवान सरकारलाई पाकिस्तान-अफगान सीमा क्षेत्र सुरक्षित गर्न बारम्बार आग्रह गरेको छ।
यसअघि अफगानिस्तानमा तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानी सेनाले शनिबार बिहान अफगानिस्तानको कुनार र खोश्त प्रान्तका केही भागमा गोली प्रहार गरेको र ठूलो क्षति पुगेको आरोप लगाएको थियो। एक विज्ञप्तिमा पाकिस्तानी विदेश मन्त्रालयले अफगानिस्तानबाट पाकिस्तानी सुरक्षा बलहरूलाई लक्षित गरी बढ्दो घटनाहरूमा गम्भीर चिन्ता व्यक्त गरेको छ।
पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्ति अनुसार प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) लगायतका चरमपन्थी समूहहरूले पाकिस्तानी सीमामा रहेको सुरक्षा चौकीमा आक्रमण गर्दै आएका छन् र यी आक्रमणहरूमा धेरै पाकिस्तानी सैनिकहरू “शहीद” भएका छन्।
विज्ञप्तिमा यो पनि भनिएको छ कि पाकिस्तानले आतंकवादको लागि अफगानिस्तानको माटो प्रयोगको कडा निन्दा गर्दछ।







डिसी नेपाल







Facebook Comment