इजरायलले अरब देशहरूसँग मित्रता गर्न थालेपछि इरानले दियो कडा चेतावनी
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीले केही अरब राष्ट्र र इजरायलबीचको सम्बन्ध सामान्य बन्न लागेको कुराको आलोचना गर्दै इजरायललाई कडा चेतावनी दिएका छन् । इरानको राष्ट्रिय सेना दिवसको अवसरमा तेहरानमा भएको सैन्य परेडमा र[सीले अरब र इजरायलबीचको सम्बन्धको उल्लेख गरेका थिए ।
उनले त्यहाँ इजरायललाई चेतावनी दिँदै भने, ‘यदि इजरायलले केही देशसँगको सम्बन्ध सामान्य बनाउन चाहन्छ भने उसको साना–साना कार्यहरु हामीबाट लुकेको छैन भन्ने कुरा उसलाई थाहा छ । यदि उनीहरूले गल्ती गरे भने, हामी यहूदी शासनको हृदयमा सीधा प्रहार गर्नेछौं र हाम्रो सेनाको शक्तिले उनीहरूलाई शान्तिमा बस्न दिनेछैन।”
इरानी सञ्चारमाध्यमका अनुसार कोरोना महामारीका कारण दुई वर्षको अन्तरालपछि इरानी वरिष्ठ नेता र सैन्य अधिकारीको उपस्थितिमा सैन्य परेड भएको हो । जसमा सेनाका नयाँ हतियार र उपकरण समेत प्रदर्शन गरिएको थियो । यस क्रममा इब्राहिम रइसीले इरानको रिभोलुसनरी गार्डको पनि प्रशंसा गरेका थिए ।
इरानले इजरायललाई मान्यता दिँदैन। तर इजरायलले पनि आणविक शक्ति सम्पन्न इरानलाई सहन नसक्ने बताएको छ । डोनाल्ड ट्रम्पले इरान र पश्चिमी देशहरूबीचको आणविक सम्झौता अन्त्य गरेका छन् । तर जो बाइडेन राष्ट्रपति भएदेखि नै आणविक सम्झौतालाई नयाँ ढंगले कार्यान्वयन गर्ने प्रयास जारी छ ।
गत महिना यी वार्ताहरू पनि रद्द गरिएको थियो किनभने अमेरिकाले आफ्नो विदेशी आतंकवादी संगठनको सूचीबाट रिभोलुसनरी गार्ड कोर्प्स हटाओस् भन्ने इरानले चाहेको थियो, तर यो समस्या समाधान हुन सकेन र वार्ता पनि रोकियो।
इरानले धेरै पटक इजरायलले आफ्नो परमाणु अखडामा आक्रमण गरी इरानका आणविक वैज्ञानिकलाई मारेको आरोप लगाएको छ। इजरायलले यी आरोपहरूलाई अस्वीकार गर्छ वा पुष्टि गर्दैन। यससँगै इजरायल र इरानबीचको समुद्रमा अघोषित द्वन्द्व पनि बाहिर आएको छ, जसमा जहाजमा रहस्यमय हमला हुने गरेको छ ।
इजरायलले इरानको आणविक कार्यक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ । इजरायलले इरानले आणविक हतियार निर्माण गरिरहेको आशंका गरेको छ, जसलाई इरानले अस्वीकार गर्दै आएको छ ।
हालैका वर्षहरूमा धेरै खाडी देशहरू इजरायलसँग नजिक भएका छन्। गत महिना मात्रै इजरायलमा चार अरब राष्ट्रको ठूलो सम्मेलन आयोजना भएको थियो, जसमा सहभागी हुन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि पुगेका थिए ।
उक्त सम्मेलनमा संयुक्त अरब इमिरेट्स, बहराइन, मोरक्को र इजिप्टका विदेशमन्त्रीहरुको सहभागिता रहेको थियो । इजरायलले यति धेरै अरब देशका वरिष्ठ अधिकारीहरूको बैठक आयोजना गरेको यो पहिलो पटक हो।
यस्तो बैठक र निकटतालाई मध्यपूर्वमा इरानविरुद्धको नयाँ क्षेत्रीय गठबन्धनको रूपमा पनि हेरिएको छ । प्यालेस्टाइन विवादको समस्या समाधान नगरी अब अरब राष्ट्रहरू इजरायलसँग सम्बन्ध बढाउन तयार रहेको पनि बैठकले स्पष्ट पारेको बताइएको छ ।
इजरायली सञ्चारमाध्यमका रिपोर्टका अनुसार बैठकको अन्त्यमा इजरायली विदेशमन्त्री यायर ल्यापिडले सम्मेलनमा सहभागी सबै देशले ड्रोन र मिसाइल आक्रमण, सामुद्रिक आक्रमणबाट सुरक्षाका लागि ‘क्षेत्रीय प्रणाली’ बनाउने विषयमा छलफल गर्ने बताए । ल्यापिडले इरान वा उसका सहयोगीहरूलाई संकेत गरिरहेक थिए।
वास्तवमा यी सबै देशले इरानको गतिविधिमाथि प्रश्न उठाउँदै आएका छन् । साउदी अरेबिया, बहराइन र यूएईले पनि सधैं इरान र यसको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई शंका गर्दै आएका छन्।
बीबीसी सुरक्षा संवाददाता फ्रान्क गार्डनरले आफ्नो रिपोर्टमा एउटा कारण उद्धृत गर्दै लेखेका छन्, “उनीहरू इरानको बारेमा सतर्क छन् किनभने इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन गर्दै मध्य पूर्वमा शक्तिशाली प्रोक्सी मिलिशिया समूहहरूको नेटवर्क बनाएको छ।”
यस्तो अवस्थामा इरानले इजरायलसँगको आफ्नो ‘शत्रु’ सम्बन्ध खुलेर व्यक्त गर्दै इजरायललाई निशाना बनाएर अरब राष्ट्रहरूलाई आफ्नो अडानको संकेत दिइरहेको छ । तर, राष्ट्रिय सेना दिवसका अवसरमा इब्राहिम राईसीले भने, ‘हाम्रो रणनीति आक्रमण गर्ने होइन, रक्षा गर्ने हो ।’
उनले थपे, “इरानको सेनाले आफूलाई थप बलियो बनाउन प्रतिबन्धको अवसरको राम्रो सदुपयोग गरेको छ र हाम्रो सैन्य उद्योग राम्रो अवस्थामा छ।”







डिसी नेपाल







Facebook Comment