विश्वका ११ सहर जो पेट्रोल-डिजेलबिना चल्न तयार छन्
काठमाडौं । अहिले पेट्रोल-डिजेलको बढ्दो मूल्यले नेपाल, भारतलगायत एसियाली मुलुक मात्र नभइ युरोपेली देशहरूलगायत विश्व नै पीडित छ । तर केही वर्षपछि त्यस्तो दिन पनि आउनेछ जब पेट्रोल-डिजेल हुनेछैन । संसारको कुनै देश वा शहरले यसलाई प्रयोग गरिरहेको हुने छैन । विश्व जसरी तीव्र गतिमा परिवर्तन भइरहेको छ, इन्धनका प्रकार र उपलब्धताको अवस्था पनि परिवर्तन भइरहेको छ । आज विश्वभर करोडौं र अर्बौं गाडी पेट्रोल र डिजेलमा चलिरहेका छन् । धेरै तेल उत्पादक देशहरूको आयको एक मात्र स्रोत पेट्रोल र डिजेल बेचेर आउने पैसा हो, तर यो सधैं टिक्ने छैन। विश्व ठूलो परिवर्तनतर्फ अघि बढिरहेको छ ।
ग्रीन एनर्जीको प्रतिवेदनअनुसार विश्वमा अहिले १ अर्ब २० करोड सवारी साधन छन्, जुन २०३५ सम्ममा २ अर्ब पुग्नेछन् । अहिले यीमध्ये थोरै प्रतिशत मात्रै पेट्रोल–डिजेलबाहेक अन्य इन्धनमा चल्छन् । तर अहिले कैयौं देश सन् २०३० सम्ममा पेट्रोल डिजेलमुक्त र अधिकांश देश २०४५ सम्ममा पेट्रोल-डिजेलमुक्त देशमा जाने लक्ष्यमा काम गरिरहेका छन् । सबै कुरा योजनाअनुसार चल्यो भने आगामी दिनमा पेट्रोल–डिजेलको सट्टा हाम्रा सहर र गाउँ–गाउँमा विद्युत, ग्यास, हाइड्रोजन र सौर्य ऊर्जाजस्ता हरित ऊर्जा इन्धनमा गाडी चल्नेछन् ।
सन् २०१६ सम्ममा विश्वमा कुल तेलको भण्डार १.६५ ट्रिलियन टन भएको अनुमान गरिएको थियो। जुन हरेक वर्ष विश्वको आवश्यकताभन्दा ४६ गुणा बढी थियो । यसको अर्थ विश्वमा अझै ४७ वर्षको लागि तेल बाँकी छ । अर्थात २०६३ सम्ममा विश्व पेट्रोल–डिजेलमुक्त भइसकेको हुन्छ वा केही मौज्दात बाँकी रह्यो भने त्यसको प्रयोग गर्नका लागि हामीसँग गाडी नहुने वातावरणविद्हरूले अनुमान गरेका थिए । अर्थात्, संसार इन्धनको आवश्यकताका लागि नयाँ विकल्पहरूमा निर्भर हुनेछ। अहिले पनि विश्वका केही सहर पट्रोल- डिजेलबिना चल्नको लागि तयार भएका छन् ।
१. म्याकिनेक आइल्याण्ड
प्रदुषणमुक्त ट्राफिक र इन्धनमुक्त संसार जुन सपना आज विश्वका सबै सहरहरूले देखिरहेका छन्, अमेरिकाको मिशिगनको म्याकिनाक आइल्याण्डले सन् १८९८ मा नै त्यो सपना पूरा गर्ने अभियानको थालनी गरेको थियो र सबै मोटराइज्ड गाडीमा प्रतिबन्ध लगाइएको थियो । यस टापुले यातायातका लागि साइकल र सम्पदा-संरक्षित घोडागाडीहरू प्रयोग गर्दछ। आफ्नो परम्परागत पहिचानका कारण यो सहर दशकौंदेखि विश्वभरका प्रकृति प्रेमीहरूको आकर्षणको केन्द्र बनेको छ । आज जब अन्य सहरहरू आफैंलाई प्रदूषणमुक्त बनाउने लडाइँ लडिरहेका छन्, यहाँका मानिसहरूले आफूप्रति गर्व गर्नु स्वाभाविक हो।
२. इटलीको भेनिस
घर, कार्यालय, विद्यालय, कलेज र सहरको मध्यभागमा गुड्ने डुङ्गा, वाटरबस र स्टीमरहरूका कारण इटालीको सुन्दर सहर भेनिसलाई विश्वभर गाडिमुक्त सहरको प्रतीकका रूपमा हेरिन्छ । सहरको बीचबाट जताततै सडकको सट्टा नहरको सञ्जाल छ, मानिसका आफ्नै डुङ्गा छन्, त्यसैले सार्वजनिक यातायातका लागि पनि सहरमा आवतजावतको मुख्य माध्यम डुङ्गा नै हो । यहाँका मानिसहरूले पनि धेरै निस्फिक्रीका साथ यी प्रदूषण मुक्त साधनहरू आवतजावत गर्न प्रयोग गर्छन्।
यी प्राकृतिक उपाय अपनाएका सहरहरू हुन् । यसबाहेक आधुनिकताको प्रतीकका रूपमा रहेका धेरै सहरहरू छन्, जसले हरित ऊर्जा अपनाउनेतर्फ द्रुत गतिमा अघि बढेका छन् । नर्वे जस्ता धेरै देशहरू छन् जहाँ इलेक्ट्रिक कारको बिक्री कुल कार बिक्रीको 60 प्रतिशत पुगेको छ। नर्वेले सन् २०२५ सम्ममा कार्बन उत्सर्जनबाट मुक्ति पाउने लक्ष्य राखेको छ । नर्वेको राजधानी ओस्लो सहित विश्वका धेरै सहरले भविष्यमा प्रदूषणमुक्त सहर बन्ने दिशामा द्रुत गतिमा अघि बढेका छन् । अमेरिकाले सन् २०३५ सम्ममा शतप्रतिशत कार्बनमुक्त बिजुलीको लक्ष्य राखेको छ । अमेरिकाको क्यालिफोर्नियाले सन् २०३५ सम्ममा पेट्रोलमा आधारित सवारी साधन र ट्रकको बिक्री रोक्ने तयारी गरिरहेको छ ।
३. लन्डनको कार फ्री स्ट्रीट
बेलायतले सन् २०२५ सम्ममा पेट्रोल बस र २०३० सम्ममा पेट्रोल कार खरिदमा पूर्ण प्रतिबन्ध लगाउने लक्ष्य राखेको छ । यदि तपाइँ यो आउँदै गरेको भोलिको झलक कस्तो हुन्छ भनेर हेर्न चाहनुहुन्छ भने, तपाइँ लन्डनको मध्य सडक क्षेत्रतर्फ जानुहोस् जहाँ पेट्रोल र डिजेलमा चल्ने कारहरू पहिले नै प्रतिबन्धित छन्। यहाँ अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन प्रवेश वा पार्किङ गर्ने ठाउँ छैन । बरु सोलार, इलेक्ट्रिक र हाइड्रोजनजस्ता नयाँ इन्धनबाट चल्ने सवारी साधनका लागि यहाँ पूर्ण सुविधाको व्यवस्था गरिएको छ । पेट्रोल-डिजेलको युगबाट बाहिर निस्कनु नै यस क्षेत्रमा बस्ने मानिसहरूका लागि अन्तिम विकल्प हो।
५. पेरिसको कार-मुक्त क्षेत्रहरू
फ्रान्सको पेरिस सहर पेट्रोल र डिजेलका कारण हुने प्रदुषणबाट मुक्ति पाउन धेरै परिवर्तन तर्फ अघि बढिरहेको छ । यहाँ धेरै दिनलाई कार फ्री डेको रुपमा मनाइन्छ । यसबाहेक सन् २०२४ देखि सहरभित्रका सडकलाई कारमुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ । अर्थात् सहरभित्र हरित ऊर्जामा चल्ने सार्वजनिक यातायातका साधन मात्र जनताले प्रयोग गर्न पाउनेछन् । पेरिसका धेरै जिल्लाहरूलाई कारमुक्त क्षेत्रका रूपमा विकास गर्ने योजनामा सहर योजनाकारहरू अगाडि बढिरहेका छन्। सन् २०३० पछि यहाँको सडकमा पेट्रोल र डिजेलका सवारी साधन पूर्णरुपमा बन्द हुनेछन् ।
५. कोपेनहेगनको साइकल संस्कृति
डेनमार्कको राजधानी कोपेनहेगनले आगामी तीन वर्षमा शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्ने तयारी गरिरहेको छ । अर्थात् प्रदूषणकारी सवारी साधनबाट पूर्णतया मुक्त। साइकल यस शहरको फेसन स्टेटमेन्ट हो। शहरभरका साइकल लेनहरू पूर्ण रूपमा सुरक्षा उन्मुख बनाइएको छ। ट्राफिक सिग्नलमा सबैभन्दा पहिले प्राथमिकताका साथ साइकल पास गरिन्छ। अफिस जाने कर्मचारी होस् वा व्यवसायी होस् वा बालबालिकालाई स्कुल लैजाने अभिभावक, सबैजना यहाँ साइकल चढेर निकै गर्व गर्छन् । सहरका धेरै स्टार्टअपहरूले नयाँ जीवनशैली प्रविधिहरूमा काम गरिरहेका छन् जसले साइकल-मैत्री सडकहरू, आधुनिक स्काई-स्लोपहरू निर्माण गरेर मानिसहरूका लागि साइकल चलाउन अझ सजिलो बनाएको छ।
६. क्यानडाको भ्यांकुभर
क्यानडाको सुन्दर सहर भ्यानकुभरले सन् २०५० सम्ममा तेलको प्रयोगबाट मुक्त हुने लक्ष्य राखेको छ । सन् २०३५ सम्ममा पेट्रोल र डिजेलमा चल्ने कार र साना ट्रकमा प्रतिबन्ध लगाउने योजना छ । सन् २०४० सम्ममा यहाँ सबै पेट्रोल–डिजेल गाडी चलाउन प्रतिबन्ध लगाइने र २०५० सम्म अन्य काममा पनि प्रयोगमा रोक लगाइनेछ । यहाँ बस ट्रान्सलिङ्क, सि–बस, स्काई–ट्रेनजस्ता आधुनिक सुविधाको विकास भएको छ जसले शहरलाई पेट्रोल–डिजेलबाट मुक्त यातायात सुविधातर्फ लैजाइरहेको छ ।
७. अकल्याण्डको सडकको जादू
यदि तपाईंसँग कार छैन र अझै पनि तपाईं शहरको हरेक विलासी क्षेत्रमा गर्वका साथ घुम्न चाहनुहुन्छ भने, तपाईंले यो सुविधा न्यूजिल्याण्डको राजधानी अकल्याण्डमा प्राप्त गर्न सक्नुहुन्छ। सहरका सबै प्रमुख केन्द्रहरूलाई जोड्ने द्रुत रेल सञ्जाल, विद्युतीय कार-ट्याक्सीहरू, सहरको बीचमा चल्ने साना क्रुजहरूले तपाईंलाई हरेक विलासिताको अनुभूति गराउनेछन्। यो सहरले सन् २०५० सम्ममा पेट्रोल–डिजेलका गाडी र भ्यानमा प्रतिबन्ध लगाउने तयारी गरेकाले यहाँका जनताले सार्वजनिक यातायातको बानी बसाल्नु पर्नेछ । सन् २०३५ देखि तेल निर्यातमा प्रतिबन्ध लगाउने योजना छ । यसबाहेक गाडीको प्रयोग घटाउन पार्किङ शुल्क बढाउने, कन्जेशन चार्ज बढाउने तयारी छ । २०३५ सम्ममा सहरमा विद्युतीय र ब्याट्रीबाट चल्ने लाइट वेहिकल मार्ग तयार गर्ने काम पनि भइरहेको छ जसले गर्दा जनताका लागि नयाँ विकल्प छन् ।
८. केपटाउनका सडकबाट गाडी आउट
ट्राफिक फ्री सडक, सवारी साधनको कोलाहलबाट छुटकारा पाउन दक्षिण अफ्रिकाको राजधानी केप टाउनले धेरै क्षेत्रलाई कारमुक्त क्षेत्र बनाएको छ । यसको सुरुवात सीबीडीमा २ बजे देखि राती ११ बजे सम्म धेरै प्रमुख सडकहरुलाई कार-मुक्त बनाएर गरिएको थियो । सहरलाई प्रदुषणमुक्त बनाउनुका साथै सडकमा हुने जामबाट पनि जनतालाई मुक्त गराउन सहरका अन्य धेरै क्षेत्रलाई कार फ्री जोन बनाउने तयारी भइरहेको छ ।
९. मेक्सिको सिटी
पेट्रोलियम उत्पादन र निर्यातका लागि परिचित मेक्सिकोको राजधानि मेक्सिको सिटी पनि पेट्रोल र डिजेल कारबाट मुक्त हुने भविष्यतर्फ अघि बढिरहेको छ । सन् २०१९ देखि नै यहाँ डिजेल गाडी घटाउने योजना सुरु भएको हो । यसका साथै इन्धनमा सल्फरको मात्रा घटाएर प्रदूषण नियन्त्रणका लागि पनि पहल गरिएको छ । बढी जनसंख्या, ट्राफिक जाम र थप प्रदुषणबाट छुटकारा पाउन यस सहरले सन् २०२५ सम्ममा प्रदुषण गर्ने कारलाई प्रतिबन्ध लगाउने लक्ष्य राखेको छ ।
१०. इक्वेडरको क्विटो
पेट्रोल र डिजेल कारबाट हुने प्रदूषणलाई रोक्न इक्वेडरको सहर क्विटोले पनि सन् २०३५ सम्ममा यस्ता सवारीसाधनमाथि प्रतिबन्ध लगाउने योजना बनाएको छ । यहाँका धेरै कम्पनीले प्रतिबन्ध लगाएपछि यातायातको यो लक्ष्य पूरा गर्न र जनतालाई यातायातका लागि आवश्यक कार्बनरहित सवारी साधन उपलब्ध गराउन सस्तो विद्युतीय कार निर्माणको कामलाई तीव्रता दिएका छन् ।
११. स्पेनको बार्सिलोना
स्पेनको बार्सिलोना सहरले सहरका सडकबाट एकैसाथ ५० हजार सवारीसाधन र मोटरसाइकल हटाउने योजना बनाएको छ । यस नगरका योजनाकारहरूले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सहरका सडकमा बढी प्रदूषण फैलाउने सवारी साधनलाई पूर्णरुपमा निषेध गर्ने योजना बनाएका छन् । यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न निषेधित सवारीसाधन सडकमा पाइएमा सवारीधनीलाई भारी जरिवाना गर्ने व्यवस्था गरिएको छ । कुनै सहरमा नदेखेको यस्तो अनौठो कदम यस सहरमा ल्याइएको हो । सहर प्रशासनले कार मालिकहरूलाई नि: शुल्क-ट्राभल कार्ड टी-भर्डे प्रस्ताव गर्यो जसका कारण उनीहरू आफ्नो गाडीहरू स्क्र्यापमा दिन सहमत भए। यो कार्डबाट उनीहरूले बार्सिलोना सहरको मेट्रो, इन्टरसिटी बस, ट्राम, ट्रेन र अन्य सार्वजनिक यातायात सेवाहरूमा निःशुल्क यात्रा गर्न सक्नेछन्।







डिसी नेपाल







Facebook Comment