४८ घण्टा नेपाल-भारत सीमा बन्द हुने

डिसी नेपाल
१० वैशाख २०७९ २२:३७
328
Shares

धनगढी ।आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ ।

नेपाल भारत सीमा सुरक्षा बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षा लाई मध्यनजर गर्दै ४८ घण्टा अगाडि देखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

शनिवार कैलालीमा बसेको दुई पक्षीय सीमा सुरक्षा बैठकले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमा नाका बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । सीमा नाका बन्द हुँदा अत्यावश्यक सेवा भने सुचारु नै रहने उनले बताए ।

बैठकमा कैलाली कञ्चनपुर र भारतको लखिमपुर खिरीका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो बैठकले निर्वाचनमा सीमा नाका बन्द गर्ने निर्णयसँगै सीमा नाकामा हुने अन्य शान्ति सुरक्षा सम्बन्धी पनि छलफल गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

‘यस पटकको बैठक निर्वाचन सुरक्षामा केन्द्रित रहेको थियो,’ प्रजिअ थापाले भने, ‘अन्य विषयमा पनि सामान्य छलफल भयो ।’ नेपाल भारतको सिमानाका बारेमा देखिएका विवादबारे पनि सामान्य छलफल भएको प्रजिअ थापाले बताए ।

बैठकमा सहभागी भारतको लखिमपुर खिरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार सिंहले नेपालमा हुने स्थानीय तहको निर्वाचनका लागि सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *