संसारकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

डिसी नेपाल
१३ वैशाख २०७९ १२:३३
192
Shares

काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानकी केन तनाकाको ११९ वर्षको उमेरमा निधन भएको छ । १९ अप्रिलमा उनको निधन भयो । सरकारले सोमबार सो जानकारी दिएको हो ।

उनको मृत्युपछि अब फ्रान्सकी लुसिले रेन्डन (सिस्टर एन्ड्रे) विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी छिन् । उनको उमेर ११८ वर्ष ७३ दिन छ । केनको जन्म २ जनवरी १९०३ मा दक्षिणपश्चिम जापानको फुकुओका क्षेत्रमा भएको थियो। त्यही वर्ष राइट दाजुभाइले आफ्नै विमानमा पहिलो पटक उडान गरे, र मेरी क्युरी नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो महिला बनेकी थिइन् ।

तानाका नर्सिङ होममा बस्दै आएकी थिइन् । त्यहाँ उनले बोर्ड गेम रिभर्सी खेल्थिन्, गणितका समस्याहरू हल गर्थिन् र चकलेट र सोडा खान्थिन्। युवावस्थामा उनले धेरै व्यवसाय गरेकी थिइन् । यसमा चाउचाउ पसल र राइस केक पसल पनि समावेश छ।

सन् २०१९ को मार्चमा ११६ वर्षको उमेरमा उनलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिएको थियो। सेप्टेम्बर २०२० मा जापानले उनलाई ११७ वर्ष २६१ दिनको उमेरमा जापानको इतिहासकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दियो।

आफ्ना मातापिताका ९ सन्तानमध्ये सातौं तानाकाको १९ वर्षको उमेरमा हिदेओ तानाकासँग १९२२ मा विवाह भएको थियो। उनीहरूका चार छोराछोरी छन्, पाँचौं उनीहरूले एडोप्ट गरेका थिए।

तानाकाले आफ्नो दीर्घायुको रहस्य साझा गर्दै सोडा, चकलेटलगायतका स्वादिष्ट खानेकुरा खानु र नयाँ नयाँ कुरा सिक्नु नै आफ्नो दीर्घायुको रहस्य भएको बताइन् । क्यालिग्राफी र अंक गणितका समस्याहरू समाधान गर्न उनको गहिरो चासो थियो।

अब फ्रान्सकी लुसिले रेन्डन (सिस्टर एन्ड्रे) विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी छिन् । उनको जन्म ११ फेब्रुअरी १९०४ मा दक्षिण फ्रान्समा भएको थियो। उनी टुलनको एक नर्सिंग होममा बस्छिन्। उनको दिन प्रार्थनाबाट सुरु हुन्छ। त्यसपछि उनले ब्रेकफास्ट लिन्छिन् । तर, उनका आँखाले देख्न सक्दैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *