गठबन्धन दलका स्थानिय नेता भेट्न चितवन पुुगे ‘प्रचण्ड’

डिसी नेपाल
१३ वैशाख २०७९ १९:१८
476
Shares

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गरेका छन्।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूसँग भेट गरेका हुन् । छोटो समयका लागि यहाँ आएका दाहालले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवारसमेत रहेका नगर सभापति चित्रसेन अधिकारीलाई भेट गरेका हुन् ।

उनले समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाललाई पनि भेट गरेका थिए । भेट पछि कांग्रेस सभापति खनालले गठबन्धनलाई सशक्त बनाएर अघि बढाउने विषयमा छलफल भएको बताए । दाहालले वडा तहसम्म मिलाएर लैजानुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा वागी उम्मेदवारीको विषयमा पनि छलफल भएको जनाइएको छ ।

खनालले भने, “विस्तृत छलफल १६ गते पछि गर्ने विषयमा कुराकानी भएको छ ।” दाहाललाई भेटेपछि बागमती प्रदेशका मन्त्रीसमेत रहेका समाजवादीका नेता कृष्ण खनालले आफूसँगको भेटमा दाहालले वडा तहसम्म मिलाउन र असन्तुष्टलाई सम्झाउन आग्रह गरेको बताए ।

दाहालले चितवनमा रहँदा माओवादी केन्द्रका नेता कार्यकर्तासँग समेत भेटघाट गरेका थिए । दाहालको उपस्थितिमा पार्टीको निर्वाचनसँग सम्बन्धित योजना निर्माणका विषयमा छलफल भएको थियो । छलफलमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला र महानगरका पदाधिकारी सहभागी भएको पार्टीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.