निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण , आयोगको आधिकारिक भाइबर ग्रुप सञ्चालन

डिसी नेपाल
१३ वैशाख २०७९ २०:१६
36
Shares

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल सरकार, गृहमन्त्रालय, रक्षा मन्त्रालय, चारवटै सुरक्षा निकाय, आयोगका कर्मचारी र साझेदार संस्था युएनडिपी, इएसपीका प्रतिनिधि सहभागी सो प्रशिक्षण कार्यक्रमको आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले शुभारम्भ गरे । आयुक्त डा. तुलाधरले शुभारम्भ कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित उच्च अधिकारीको उपस्थिति थियो ।

प्रशिक्षणको दोस्रो सत्रमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचनसम्बन्धी कानूनी पक्ष, आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन कार्यक्रम र व्यवस्थापन, आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदान र मतगणना विषयमा प्रशिक्षणमा प्रस्तुति र सहजीकरण गरेका थिए। प्रस्तुतीकरणहरुमा स्थानीय तहको निर्वाचन कार्यक्रम, निर्वाचन कसुर तथा सजाय, आचारसंहिता, अनुगमन, पर्यवेक्षण, सामाजिक सञ्जाल अनुगमन, विवाद सुनुवाइ र निरुपण, मतपत्र छपाइ र ढुवानी, मतदान र मतगणना प्रक्रिया आदि विषय समाविष्ट गरिएको थियो ।

निर्वाचनका लागि निर्वाचन आयोग, नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिकरूपमा आयोगको भाइबर ग्रुप औपचारिकरूपमा सुरु गरेको छ । आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउनेछ । यस प्लेटफर्मको प्रयोग गरी निर्वाचनसम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *