कांग्रेस नेता तिम्सिनाले गरे पार्टी परित्याग
खोटाङ। नेपाली कांग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गरेका छन्। कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
बुधबार पत्रकार सम्मेलनमार्फत उनले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिए। २०५९ सालदेखि कांग्रेसमा क्रियाशील तिम्सिना २०६२-०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए। उनी कांग्रेस नेता मनोज तिम्सिनाका भाइ हुन्।
केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भाइ मुक्तिनाथले जिम्मेवारी छाडेको अनुमान गरिएको छ। पार्टीका उम्मेदवारले ‘हार्दा पनि जित्दा पनि’ दोष बोक्नुपर्ने अवस्था आएकाले जिम्मेवारी छाडेको बताए।
तिम्सिनाले निर्माण गरेको माथिल्लो रावा खोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ। यसबाहेक बाख्रापालन, कालिज पालन, लोकल माछा पालनलगायतका कृषि कर्ममा लाग्नेगरी पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिकको रूपमा काम गर्ने तिम्सिनाले बताए। चुनावका बेला कांग्रेसका पूर्वकोषाध्यक्ष जीवन राई र पूर्वजिल्ला सदस्य भुवन श्रेष्ठले पनि पार्टी परित्याग गरेका छन् । राईलाई एमालेले बराहपोखरी गाउँपालिका उपाध्यक्षमा उठाएको छ।







डिसी नेपाल







Facebook Comment