अन्तरिक्षमा मासु उमार्ने प्रयास सम्भव होला कि नहोला

डिसी नेपाल
१६ वैशाख २०७९ ८:४२
84
Shares

बीबीसी। जेफ बेजोस र इलोन मस्क अन्तरिक्षलाई उपनिवेश बनाउन चाहन्छन्। नासा पनि मङ्गल ग्रहको धुलौटे सतहमा मानिसलाई पुर्‍याउन चाहन्छ। चन्द्रमा वा कुनै ग्रहमा बस्ती बसाउने मानिसको रहर हो भने त्यहाँ उनीहरूले के खालान्?

अन्तरिक्षमा बोटबिरुवा उमार्नका लागि थुप्रै प्रयोग र परीक्षणहरू भएका छन्। अनि गत साता अन्तरिक्षमा मासु उत्पादन गर्न सकिन्छ कि भनेर नयाँ परीक्षण सुरु भएको छ। मानव शरीरका लागि आवश्यक पोषणको स्रोत प्राप्तिका लागि यो सानो प्रारम्भिक अध्ययन हो तर यसका परीक्षणकर्ताहरूले यो भविष्यको अन्तरिक्ष यात्राका लागि ठूलो कदम हुन सक्ने आशा व्यक्त गरेका छन्।

कोषबाट मासु उत्पादन गर्ने विषयमा विज्ञ मानिएको इजरेली कम्पनी आलेफ फार्म्सले कल्पना गरेको यो परीक्षण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा निजी अन्तरिक्षयात्रीहरूको एउटा टोलीले गर्दै छ।
केहीले यसरी मासु उत्पादन गर्नुभन्दा पृथ्वीबाटै लग्नु सहज हुने बताउँदै यो तरिका अन्तरिक्षयात्रीका लागि भरपर्दो नहुने तर्क गरेका छन्।

कोशिकाबाट धेरै मात्रामा मासु उत्पादन गर्ने कार्य पृथ्वीमा पनि सहज छैन। आलेफ फार्म्स पृथ्वीमा यस्तो प्रयास गरिरहेका केही कम्पनीमध्ये एउटा हो र अन्तरिक्षमा परीक्षण गर्ने पहिलो हो। कुनै मासुको कोषलाई बढ्न आवश्यक अमिनो एसिड र कार्बोहाइड्रेटजस्ता वस्तु दिएर मांसपेशीजस्तो बनाइन्छ र त्यो हामीले खाने मासुजस्तै हुन्छ।

यस्तो मासु मदिरा कारखानाको जस्तो ट्याङ्कीमा उत्पादन गरिन्छ। यसरी मासु उत्पादन गर्दा जनावर पाल्दा उत्पादन हुने मिथेन ग्यास कम हुने र यसले पर्यावरणमा पर्ने असरहरू कम हुने विज्ञहरूको विश्वास छ। आलेफ फार्म्सका अन्तरिक्ष कार्यक्रम प्रमुख ज्भिका तामरीका अनुसार गुरुत्वाकर्षण नभएको स्थानमा यसरी मासु हुन्छ कि हुँदैन भन्ने वैज्ञानिकहरूलाई यकिन छैन।

त्यसैले एप्रिल ८ का दिन चार अन्तरिक्षयात्री स्पेसएक्सको यानबाट पहिलो निजी अभियानमा अन्तरिक्षतिर प्रस्थान गर्दा उनीहरूले जुत्ताको बाकसजत्रो बट्टामा मासुको कोष र त्यसलाई बढाउन चाहिने आवश्यक अन्य सामग्री पनि बोके। उनीहरू एप्रिल २४ मा फर्किन्छन् र त्यसपछि त्यो कोषलाई अध्ययन गरिने छ। तर अन्तरिक्षमा मासु उत्पादन गर्ने परीक्षण सफल भए पनि त्यो राम्रो उपाय नहुन सक्छ।

बजारमा किन यस्ता मासु पाइँदैन भन्ने कारण छ: लियोनार्दो डी’कार्पियोजस्ता मानिसहरूले यो उद्योगमा करोडौँ डलर खर्च गरेको भए पनि अहिलेसम्म यस्तो मासु ठूलो परिमाणमा उत्पादन गर्न सकिएको छैन।

आलेफ फार्म्सले इजरेलमा रेस्टुराँहरूमा यस्तो मासुको परिकार बेच्नका लागि आवश्यक अनुमति कुरिरहेको छ। यो मासुले पृथ्वीमा पनि खान सुरक्षित वस्तुका रूपमा अनुमति पाएको छैन।

बर्केलेका रासायनिक इन्जिनियर डेभिड हम्बर्ड भन्छन्: “मासुका कोष बिस्तारै बढ्छन्। त्यसमा ब्याक्टेरिया पस्यो भने त्यो द्रुत गतिमा बढ्छ, अनि त्यो मासु रहँदैन, ब्याक्टेरिया हुन्छ र फ्याँक्नुपर्छ।”

आलेफ फार्म्सले अन्तरिक्षमा धेरै मासु उत्पादन गर्न नपर्ने भएकोले यो समस्यालाई सजिलै निराकरण गर्न सकिने बताउँछ। तर कुनै ग्रहमा मानव समुदाय भएको ठाउँमा यस्तो मासुमा ब्याक्टेरिया पस्यो भने त्यो पृथ्वीमा खडेरी लागे जस्तै हुन्छ। आलेफ फार्म्सलका अनुसार अन्तरिक्षमा खानेकुरा लैजानु अत्यधिक महँगो पर्न जान्छ।

नासाले सन् २००८ मा गरेको अनुमानअनुसार आधा किलो खानेकुरा पृथ्वीबाट अन्तरिक्ष पुर्‍याउन झन्डै सवा लाख रुपैयाँ खर्च लाग्छ। मङ्गलमा पुर्‍याउन त झन् धेरै लाग्छ। आलेफ फार्म्सले त्यहीँ मासु उत्पादन गर्न सकियो भने त्यो निकै सस्तो पर्छ। तर यहीबाट त्यसमा हाल्ने अन्य रसायनहरू लग्नुपर्दा त्यो खासै फरक नपर्ने हम्बर्ड बताउँछन्।

परीक्षणमा मासु उत्पादन गर्न सकिने पत्ता लगाउनु र त्यो उत्पादन गर्नु बीच ठूलो खाडल पनि छ। अनि त्यो पृथ्वीबाट लग्नुभन्दा सस्तो र विश्वसनीय बनाउनु पनि गाह्रै छ।

आलेफ फार्म्सको सपना ठूलो छ तर अहिलेका लागि उसको सङ्घर्ष पृथ्वीमै बेच्नका लागि यथेष्ट मात्रामा यस्तो मासु बनाउनु हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *