यो गोलीले सिरियाको असद परिवारलाई मालामाल बनाइरहेको छ
काठमाडौं । अरब जगतमा एउटा पुरानो औषधि फेरि सार्वजनिक भएको छ । यसको नाम क्याप्टागन हो । धेरै वर्षसम्म यो पश्चिमी देशहरूमा डिप्रेसनको लागि प्रयोग गरिएको थियो। तर, पछि जब यसको मादक क्षमता बाहिर आयो, यसलाई प्रतिबन्धित गरियो।
केही वर्ष अघिसम्म, यो विश्वास गरिएको थियो कि यसको उत्पादन तथाकथित चरमपन्थी संगठन इस्लामिक स्टेटको लागि आम्दानीको एक महत्त्वपूर्ण स्रोत थियो। त्यसैले यसलाई ‘ड्रग अफ टेररिष्ट’ पनि भनिन्छ । अब अनुसन्धानले फारसको खाडी क्षेत्र र लेभान्ट क्षेत्रमा ठूलो मात्रामा उत्पादन र बजारीकरण भइरहेको र ठूलो समस्या भएको खुलासा गरेको छ ।
वाशिंगटनमा रहेको थिंक ट्याङ्क न्युलाइन इन्स्टिच्युट अफ पॉलिसी एण्ड स्ट्राटेजीले हालै सिरियामा लागुऔषध उत्पादनको विस्तृत अनुसन्धान प्रतिवेदन प्रकाशित गरेको छ। यस थिंक ट्यांककी क्यारोलिन रोजले बीबीसी मुन्डोसँग भनिन् “हाम्रो अनुसन्धानले देखाएको छ कि क्याप्टागनको उत्पादन सिरियाली सरकारको आम्दानीको महत्वपूर्ण स्रोत भएको छ ।”
क्यारोलिन भन्छिन्, “यी लागूऔषधहरू सिरियाको मुख्य निर्यात भएको छ।” अनुसन्धानले सिरियाली राष्ट्रपति बसर अल-असदसँग घनिष्ठ सम्बन्ध रहेकाहरू यसमा संलग्न भएको देखाएको छ । जसमा उनका कान्छा भाइ महेर अल-असद पनि छन् जो सिरियाली सेनाको चौथो डोभिजनका कमाण्डर हुन् ।
सिरियाली सरकारले धेरै पटक क्याप्टागनको उत्पादनमा संलग्नता अस्वीकार गरेको छ र यस बारे प्रकाशित सबै रिपोर्टहरू गलत भएको बताएको छ। गत वर्ष डिसेम्बरमा सिरियाका आन्तरिक मन्त्रीले फेसबुकमा लेखेका थिए, “सिरियाले अपराध, विशेष गरी लागूपदार्थको तस्करीविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायको प्रयासलाई समर्थन गर्दछ।”
विज्ञप्तिमा भनिएको छ कि सिरियाले अपराध विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायको प्रयासलाई समर्थन गर्दछ र लागूपदार्थ विरुद्धको लडाईमा विशेष योगदान गर्दछ।
अक्टोबर २०२१ मा सिरियाली मिडियासँग कुरा गर्दै सिरियाली आन्तरिक मन्त्री मुहम्मद अल रहमुनले सिरिया लागुऔषधमुक्त देश भएको तर यसको भौगोलिक अवस्था यस्तो छ कि यो लागूपदार्थको तस्करीको बाटोमा पर्ने बताएका थिए ।
यद्यपि, न्यूलाइन इन्स्टिच्युटको अनुसन्धानले सिरियाली सरकारको लागुऔषधमा संलग्नतामा औंला मात्रै औंल्याएको छैन। जोर्डन र इटाली लगायत धेरै देशहरूका कोस्टगार्ड रिपोर्टहरू, न्यूयोर्क टाइम्स र द गार्डियन, सेन्टर फर अपरेशनल एनालिसिस एण्ड रिसर्च र संगठित अपराध र भ्रष्टाचार रिपोर्टिङ प्रोजेक्टको रिपोर्टहरू सबैले दमास्कसको भूमिकामाथि प्रश्न उठाएका छन्।
सीओएआरले गत वर्ष संकेत गरेको थियो, “परम्परागत औद्योगिक गतिविधिको कमीले सिरियाली राष्ट्रपति बसर अल-असदको शासनका मानिसहरूद्वारा नियन्त्रित ठूलो मात्रामा लागूपदार्थको उत्पादनमा आकर्षण बढेको छ। यसमा विदेशी सरकारी अधिकारीहरू पनि समावेश छन्।
एक दशक लामो गृहयुद्धले सिरियाको अर्थतन्त्र तहसनहस भएको र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारणले पनि पुन: प्राप्ति हुन नसकेको एक अनुसन्धानले देखाएको छ । यस्तो अवस्थामा क्याप्टागनको उत्पादनबाट अर्बौं डलरको व्यापार भइरहेको छ । “क्याप्टागन उत्पादन हुने क्षेत्रहरू बसर अल-असद र उनका नजिकका सहयोगीहरूको नियन्त्रणमा छन्,” सीओएआर विश्लेषक इयान लार्सन भन्छन् ‘यो एक संयोग हो, तर त्यहाँ यसको संकेतहरू छन्।”
न्युलाइन इन्स्टिच्युटको अनुसन्धान अनुसार सन् २०२१ मा मात्रै क्याप्टागनको अवैध बजारले ५.७ अर्ब डलर कमाएको थियो । क्यारोलिन रोज भन्छिन्, “यसको कति रकम सिरियाली सरकारमा जान्छ भनेर हामी निश्चित रूपमा भन्न सक्दैनौं, तर यो भन्न सकिन्छ कि यसको ठूलो हिस्सा यी मानिसहरूको खल्तीमा जानेछ।”
दश वर्षको युद्धले अर्थतन्त्र ध्वस्त भएपछि क्याप्टागन सरकारको सबैभन्दा ठूलो आम्दानीको स्रोत बनेको अनुसन्धानकर्ताहरूको विश्वास छ। तर, सरकारसँग सम्बद्ध नभएका व्यक्तिले पनि यसको फाइदा उठाइरहेका छन् । शोधकर्ता भन्छन् ‘ “सिरियामा कृषि र व्यवसायमा संलग्न धेरै मानिसहरू क्याप्टागनको उत्पादनमा सामेल भएका छन् किनभने उनीहरूले यसलाई बर्बाद भएको अर्थतन्त्रमा आम्दानीको राम्रो स्रोतको रूपमा हेर्छन्, ।”
क्याप्टागन पहिलो पटक १९६० मा बनाइएको थियो र विश्वव्यापी रूपमा एक एन्टिडिप्रेसन्टको रूपमा प्रयोग गरिन्थ्यो। यसबाहेक अन्य धेरै रोगहरूमा पनि यसलाई चिकित्सकहरूले सुझाएका छन्। रोज भन्छिन्, “यो कुनै समय प्रिस्क्रिप्शन ड्रग थियो, पछि यसलाई प्रतिबन्ध लगाइयो र यसलाई मध्यपूर्वमा अवैध औषधीको रूपमा व्यापक रूपमा प्रयोग गरिएको थियो। अब यो क्षेत्रमा सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली अवैध व्यापार भएको छ। विशेष गरी मध्यपूर्व, लेभान्ट र फारसी खाडीमा।”
अन्वेषकहरूका अनुसार यी क्षेत्रमा यो औषधि धेरै लोकप्रिय हुनुको एउटा कारण यो हो भने यसको प्रभाव अन्य औषधिहरू जस्तै धेरै नकारात्मक हुँदैन। यसबाहेक यस क्षेत्रको आर्थिक र राजनीतिक अवस्थाले पनि यसको उपभोगलाई असर गर्छ। “पश्चिमको तुलनामा अरब संसारमा लागुऔषधमा बढी लान्छना छ। यहाँका मानिसहरूले ड्रग्सलाई धेरै नराम्रो मान्दछन्। क्याप्टागन लामो समयदेखि कानुनी रूपमा वैध थियो र यसलाई औषधिको रूपमा मान्यता थियो त्यसैले यसको लोकप्रियतामा कमी आएको छैन।”
यो चक्की सेवन गर्ने देशमा लामो समयदेखि राजनीतिक र आर्थिक अवस्था राम्रो नहुँदा जनताको जनजीवन दयनीय छ, यो चक्की सेवन गर्दा मानिसले भोक र पीडाबाट मुक्ति पाउँछन् भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ । यो अन्य औषधिहरूको तुलनामा धेरै महँगो छैन। यसै कारणले यो चक्कीलाई गरिबको कोकिन पनि भनिन्छ।
यसको लोकप्रियताको एउटा कारण यो पनि हो कि क्याप्टागन चक्की खानेहरूले आफ्नो क्षमता बढेको महसुस गर्छन्। यस बाहेक यसले भोक र निद्रालाई दबाउँछ र शरीरमा ऊर्जा संचार गर्दछ। यही कारणले गर्दा यो मनोरञ्जनात्मक लागुऔषधका रूपमा पनि युवाहरूमाझ लोकप्रिय छ ।
अनुसन्धानकर्ता क्यारोलिन रोज भन्छिन्, “तपाईंले यो पनि ध्यानमा राख्नु पर्छ कि क्याप्टागनको एम्फेटामाइनमा आधारित फर्मुला पनि परिवर्तन भएको छ। यसमा एम्फेटामाइनको डोज बढाइएको छ, साथै तामा, जिंक, क्विनाइन जस्ता अन्य पदार्थहरू पनि थपिएको छ। ”
जुन अनुसन्धानका आधारमा यो औषधिलाई प्रतिबन्ध लगाइएको थियो, त्यसमा यो लत हुनसक्ने बताइएको थियो । केही अनुसन्धानकर्ताहरूले यो औषधिको प्रयोगले व्यक्तिलाई हिंस्रक पनि बनाउन सक्ने बताएका छन् । यसले रक्तचाप बढ्न सक्छ र हृदय रोग निम्त्याउन सक्छ।
रोज भन्छिन्, “क्याप्टागनका धेरै प्रयोगहरू छन्, त्यसैले क्याप्टागन यस्तो रोचक फर्मुला हो कि विभिन्न प्रकारका मानिसहरूले यसलाई विभिन्न तरिकामा प्रयोग गर्छन्।” क्याप्टागन इस्लामिक स्टेटको उदय हुनु अघि पनि अरब संसारमा प्रयोग भएको थियो। तर, हालैका वर्षहरूमा यसको उत्पादन रेकर्ड स्तरमा पुगेको छ।
२०२१ को अन्त्यमा, अमेरिकी अखबार द न्युयोर्क टाइम्सले गरेको अनुसन्धान प्रतिवेदनमा त्यो वर्ष विश्वभर क्याप्टागनका २५ करोड ट्याब्लेट जफत गरिएको थियो। यो चार वर्षअघि बरामद गरिएका गोलीभन्दा १८ गुणा बढी हो । रोजका अनुसार सन् २०२२ सम्मको तथ्यांकले पनि यो वर्ष यो संख्या अझ बढी हुन सक्ने देखाएको छ ।
विज्ञहरू भन्छन्, “यो औषधि ठूलो मात्रामा उत्पादन भइरहेको छ, जसमा सिरियाली सरकार मात्र नभई अरब संसारका जग्गाधनी र ठूला व्यापारीहरू पनि सामेल छन्। बजारको माग पूरा गर्न उत्पादन बढाइएको छ।” रोज भन्छिन्, “तर यो व्यक्तिगत वा सानो स्तरमा उत्पादन हुँदैन जसरी सरकारले आफ्नो सेनासँग उत्पादन गर्छ। त्यसपछि यो औद्योगिक स्तरमा गरिन्छ।”
रोज भन्छिन् कि उनको अनुसन्धानले सिरियाली सरकार र सेना लागूऔषध उत्पादनमा बढी सक्रिय भएको र थप जटिल नेटवर्क भएको देखाउँछ। न्यूलाइन इन्स्टिच्युटको प्रतिवेदनले सिरियाली सरकार लागूऔषध उत्पादनदेखि मार्केटिङसम्म सबै कुरामा संलग्न रहेको देखाएको छ ।
शोधकर्ता भन्छन्, “हामीले यसको उत्पादनका धेरै ठाउँहरू पहिचान गरेका छौं जुन सिरियाली सेनासँग सम्बन्धित छन्, यसका अतिरिक्त, सिरियाली सरकारी एजेन्सीहरूले पनि यसको उत्पादनमा साना, मध्यम र ठूला प्रयोगशालाहरूमा मद्दत गरेका छन्।”
रोज भन्छिन्, “त्यसपछि यी लागूपदार्थहरूको ढुवानीको कुरा आउँछ, जसका लागि धेरै सिरियाली सरकारी बन्दरगाहहरूका साथै अनौपचारिक बन्दरगाहहरू प्रयोग गरिन्छ। तिनीहरू सिरियाको तटबाट लेबनानको तटसम्म फैलिएका छन्। तिनीहरू सीमा चौकीहरूबाट पनि जान्छन्। यो एउटा जटिल नेटवर्क छ जसले सिरियालाई सबैभन्दा उन्नत नार्को राज्य बनाउँछ। कम्तिमा त्यो अहिले भन्न सकिन्छ।”
२०२० मा, करिब १०० मिलियन डलरको क्याप्टागनको ढुवानी ग्रीसको बन्दरगाहमा समातिएको थियो। जहाजले सिरियाको लताकिया बन्दरगाहबाट यात्रा सुरु गरेको थियो । यो बन्दरगाह सिरियाली सरकारको नियन्त्रणमा छ। कफी, मसला र पराल मुनि लागूऔषध भेटिएको थियो।
ओसीसीआरपी अनुसन्धान प्रतिवेदनका अनुसार जहाजका मालिक ताहेर अल-कायली हुन्, जसलाई इटालियन प्रशासनले प्रतिबन्ध लगाएको छ र जो सिरियाली राष्ट्रपति बसर अल-असदका भतिजा मुदार अल-असदसँग जोडिएका थिए। त्यतिबेला सिरियाली सरकारले आफ्नो विज्ञप्तिमा भनेको थियो कि उसले लागुऔषध तस्करहरू विरुद्ध कारबाही गरिरहेको छ र लागूपदार्थ रोक्ने प्रयासमा संलग्न छ।
सिरियामा १० वर्षदेखि गृहयुद्ध चलिरहेको छ, जसले अर्थतन्त्रलाई तहसनहस बनाएको छ । न्युजलाइन इन्स्टिच्युटको प्रतिवेदन अनुसार यस्तो कठिन समयमा मानिसहरु लागुऔषध कारोबारलाई आम्दानीको माध्यमका रुपमा हेरिरहेका छन् ।
“सिरियाली सरकारले क्याप्टागन मार्फत अर्थतन्त्रमा लगाइएका प्रतिबन्धहरूलाई बेअसर गर्ने प्रयास गरिरहेको छ र सरकारमा रहेका मानिसहरू, उनीहरूका सहयोगीहरू र नजिकका मानिसहरूलाई फाइदा गरिरहेको छ,” रिपोर्टमा भनिएको छ।
सिरियामा गृहयुद्ध समाप्त भएपछि पनि क्याप्टागनको ठूलो उत्पादन बन्द नहुने अनुसन्धानकर्ताहरूको विश्वास छ। कम्तिमा जब सम्म बसर अल-असद परिवार सत्तामा छ तब सम्म बन्द हुने छैन ।
रोज भन्छिन्, “हामीले समयसँगै यो व्यवसाय बढ्दै जाने अनुमान गरेका छौँ। यसले कानून र व्यवस्थालाई मात्र नभई मानव सुरक्षामा पनि खतरा निम्त्याउनेछ। धेरैले यसलाई प्रयोग गर्नेछन् र यसको सूत्र परिवर्तन हुनेछ। पछि यो घातक पनि हुन सक्छ।”







डिसी नेपाल







Facebook Comment