लोसपाको नजरमा नेपाली कांग्रेस– अनुदारवादी, कम्युनिस्ट पार्टीहरु– विकास विरोधी

डिसी नेपाल
१६ वैशाख २०७९ १५:५०
152
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले शुक्रबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै विभिन्न दलहरुलाई हेर्ने आफ्नो दृष्टिकोण बाहिर ल्याएको छ।

लोसपाले नेपाली कांग्रेसलाई ‘नाम ठूलो, काम सानो’ गर्ने पार्टीको रुपमा चित्रण गरेको छ।

देशको समृद्धि, नयाँ नेतृत्वको विकास, अग्रगामी परिवर्तनका मुद्दा, चुस्त र इमानदार शासन–प्रशासन र युवा नेतृत्वलाई अवसर आदि विषयमा नेपाली कांग्रेस अत्यन्तै उदासिन र असफल देखिएको निस्कर्ष लोसपाको छ।

‘जबजब मधेसी, शिल्पी\दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्नवर्ग लगायत वहिष्करण तथा वन्चितीकरणमा परेका र पारिएकाहरुको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा आफूलाई संकुचित गर्छ,’ घोषणापत्रमा भनिएको छ।

लोसपाले नेपालका कम्युनिस्ट पार्टीहरुलाई ‘विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी’ भनेको छ। नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि कम्युनिस्ट पार्टीहरुले आफ्नो औचित्य सावित गर्न नसकेको लोसपाले जनाएको छ।

‘जुन पार्टीले चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि बिथोल्न पछि पर्दैन, ती संगठनहरु राजनीतिक दल नै हो र त्यसको औचित्य छ भनेर कसरी भन्ने ?,’ लोसपाले घोषणापत्रमा प्रश्न गरेको छ।

नेपालका कम्युनिस्ट पार्टीहरु स्वरुपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र तथाकथित उपल्लो जातिहरुको राजनीति उद्यम गर्ने संगठन भएको निस्कर्ष लोसपाको छ।

‘कम्युनिस्ट पार्टीहरु राष्ट्रिय विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठनहरु हुन्,’ लोसपाको घोषणापत्रमा उल्लेख छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.