कांग्रेसका बागी उम्मेदवार देउवाप्रति आक्रोशित

डिसी नेपाल
१७ वैशाख २०७९ ९:५९
528
Shares

काठमाडौं। नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरूले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन्। उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र विपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन्।

यस्तो टिप्पणी गर्नेमध्ये एक हुन्ज-गन्नाथ पौडेल। चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी कांग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं। हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ।’

देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए। गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए। तर, उनी फकिएनन्। बागी उम्मेदवारी फिर्ता लिएनन्। नलिएपछि उनलाई शुक्रबार नै कांग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ।

देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन्–विमल कार्की। पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उनले देउवाले कांग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन्।

उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन्। सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए। अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए।

शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो। धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *