धनगढीमा क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

डिसी नेपाल
२२ वैशाख २०७९ २३:३६
28
Shares

कैलाली । धनगढीमा आगामी जेठ ५ गतेदेखि क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता आयोजना गरिने भएको हो ।

धनगढीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले धनगढी सुपर लिग आयोजना गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

क्रिकेटको सहर भनेर चिनिएको धनगढीलाई अब पर्यटकीय सहर पनि बनाउन र यसको गरिमा थप माथि पुर्‍याउन उक्त प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ ।

प्रतियोगितामा देशका विभिन्न छवटा क्लब बुङ्गल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लब धनगढीको सहभागिता रहने बताइएको छ ।

टी–ट्वान्टी फर्मेटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु दुई लाख उपविजेताले रु एक लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले रु सात हजार ५०० नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई नगद दुई हजार ५००, सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *