बिराटनगरको मेयरमा कोइरालाले ‘ह्याट्रिक’ गर्ने सम्भावना

विजयप्रसाद मिश्र
२७ वैशाख २०७९ २२:२८

बिराटनगर । राजनीतिक शहरको रुपमा चिनिएको विराटनगरको मेयरका लागि कोइराला परिवारका व्यक्तिले ‘ह्याट्रिक’ गर्ने सम्भावना बढेर गएको छ । शुरुमा डा. शेखर कोइरालाका बुबा केशव प्रसाद कोइराला विराटनगरका मेयर भएका थिए भने बहुदलिय व्यवस्थाको पुर्नस्थापना पछिको स्थानीय निर्वाचनमा पूर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाका भाइ अशोक कोइराला विराटनगरको मेयर भइसकेका छन् । आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरिरहेका नागेश कोइरालाले जीतेर बिराटनगरको मेयरमा ‘ह्याट्रिक’ पुरा गर्दैछन् ।

यो बर्ष विराटनगर महानगरको १९ वटै वडामा वडा सदस्यदेखि प्रमुख र उपप्रमुखसहित ९७ पदका लागि ७२३ उम्मेदवार छन् । विराटनगरमा मेयर पदका लागि प्रतिस्पर्धा गर्नेमा नेपाली कांग्रेसबाट नागेश कोइराला गठबन्धनको समेत उम्मेदवार भएका छन् भने एमालेका तर्फबाट सागर थापा मेयरको प्रतिस्पर्धामा छन् । यस अघि महानगरको मेयरमा नेपाली कांग्रेसको भीम पराजुली नै विजयी भएकाले त्यसको निरन्तरता हुँदा नागेश कोइरालाले बाजी मार्ने सम्भावना बढेर गएको हो ।

जनता समाजवादी पार्टीले समेत नेपाली कांग्रेसलाई समर्थन गरेको भएपनि उनीहरुबाट विद्रोह गरेर उमेश यादव मेयरमा स्वतन्त्र उठेका छन् । यति हुँदा हुँदै पनि नेकपा एकीकृत समाजवादी पार्टीले समेत नागेश कोइरालालाई नै समर्थन गरेकोले उनको जीत पक्का देखिएको छ ।
प्रतिस्पर्धामा रहेका एमालेका सागर थापाले एमालेकै संगठित भोट र बिराटनगरको क्षेत्री समुदायको भोट पाउने सम्भावना भएको देखाएर उनको जीतको सुनिश्चिता देखिरहेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवासंग बालुवाटरमा झगडा गरेर भएपनि नागेश कोइरालालाई मेयरमा टिकट दिलाएका हुन् । डा. शेखर अहिले बिराटनगरमा अड्डा जमाएर बसेका छन् ।

नेपाली कांग्रेसको गढ भनेर चिनिएको विराटनगरमा मेयर र उपमेयर दुबै कांग्रेसले जीत्ने स्थान भएपनि गठबन्धनका कारणले उपमेयरमा उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई कांग्रेसले समर्थन गरेपछि नेविसंघदेखि कै राजनीति गरेर कांग्रेसको लागि लिजोज्यान दिने एकजना महिलाले स्वतन्त्र उम्मेदवारी दिएको र कांग्रेसी महिलाबृत्तमा उनको नाम चर्चामा रहेकोले उपेन्द्र यादवको छोराले सबै कांग्रेसको मत उपमेयरका लागि पाउने स्थिति छ्रैन ।
यस अघिको निर्वाचनमा एमालेले मेयरमा विनोद ढकाललाई र उपमेयरमा महेश रेग्मीको श्रीमतीलाई उठाउन लागेको भएपनि अन्तिम चरणमा उपमेयर अन्यपार्टीलाई दिएर गठबन्धन गरेको थियो । तर मत परिणाम हेर्दा उपमेयरको उम्मेदवार नै नभएको सूर्य छापमा १० हजार मत परेको थियो । त्यही कथा यसपटक नेपाली कांग्रेस भित्र दोहोरिने सम्भावना बढेर गएको छ ।

गठबन्धनको विरोध गर्ने कांग्रेसी मतदाताहरुले सातबटै रुखमा मत दिएर १० हजारभन्दा बढी उपमेयरको भोट कांग्रेसका मतदाताले कित खेर फाल्ने कित एमालेका सिल्पा कार्की र माओवादीबाट विद्रोह गरेर उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपानेलाई भोट क्रश गर्ने स्थिति देखिएको विराटनगरको कञ्चनबारीको राजनीतिक बहस हुने चिया पसलहरुमा सुनिने गरेको छ ।
राजाको पालामा मेयर बन्ने सौभाग्य पाएका प्रल्हाद प्रसाद साह यसपटक राप्रपाबाट मेयरको दावेदार छन् भने जनमत पार्टीबाट अरुणकुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, स्वतन्त्र उमेशकुमार यादवलगायत १३ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
उपमेयरमा एमालेबाट सिल्पा कार्की, जसपाबाट अमरेन्द्र यादव, राप्रपाबाट विन्दा लुइँटेल आचार्य, विवेकशील साझा पार्टीबाट श्रीजु पराजुली, स्वतन्त्र नमिता न्यौपाने पोखरेललगायत १४ ले प्रतिस्पर्धा गरेका छन् ।

२०७४ सालको विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुखमा १४ र उपप्रमुखमा ११ उम्मेदवार थिए । निर्वाचनमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याई विजयी भएका थिए भने एमालेका विनोद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए ।उक्त निर्वाचनमा राप्रपाबाट प्रल्हादप्रसाद साहले पाँच हजार ५२४, सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८, नेकपा माक्र्सवादीका लिलोमोहन राजवंशीले ३१, चुरे भावर एकता पार्टी नेपालका घनश्याम टण्डनले दुई, नेपाल समावेशी पार्टीका गोपालप्रसाद गिरीले तीन मत ल्याएका थिए । उमेश यादव जसले लगभग १५ हजार भोट ल्याएका थिए र उनले पाएको करिब १० हजार भोट ल्याप्चे लगाएर बदर भएको थियो ।

मतपत्र दिंदा हस्ताक्षर गर्न सक्नेलाई पनि निर्वाचन आयोगले ल्याप्चे लगाउन लगाएको र सो ल्याप्चे लगाएको बुढी औला राम्रोसंग सफा गर्न नपाउँदै मतपत्र पक्रिदा औलाको छाप मतपत्रमा लागेको आधारमा धेरै मत बदर गरिएकोले यसपटक विराटनगरका मतदाताहरुले मतदाताले सहीछाप गर्ने भनिएको स्थानमा डटपेनले हस्ताक्षर गर्न पाउनुपर्ने प्रावधान निर्वाचन आयोगले राख्नुपर्ने माग गरेका छन् । यस अघिको निर्वाचनमा केही पढेलेखेका बौद्धिक वर्गले निर्वाचन आयोगका प्रतिनिधिहरुलाई मतपत्र लिंदा हस्ताक्षर गर्न दिनुस भन्दा हस्ताक्षार गर्न दिने चलन नभएको बताएर बाध्यपारेर ल्याप्चे लगाउन लगाएका थिए । यस बर्ष निर्वाचन आयोगले पहिले नै निर्वाचन अधिकृतहरुलाई डटपेनको बजेट लिएर हस्ताक्षरको व्यवस्था मिलाउन आह्वान गरेका छन् ।

विराटनगर महानगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १४६ मत ल्याई विजयी भएकी थिइन भने नेकपा माओवादी केन्द्रकी नमिता न्यौपाने पोखरेलले ११ हजार ५२४ मत ल्याई दोस्रो भएका थियो । उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने अन्य उम्मेदवारमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)की सूची चौधरीले १० हजार ५३६, राप्रपाकी शोभा श्रेष्ठले चार हजार १०२ मत ल्याएका थिए ।
एमालेको उम्मेदवार नै नभएको उपमेयर पदमा गएको उनीहरुसंग गठबन्धन गरेकी सूची चौधरीले प्राप्त गरेकी भए उनको २० हजार ५३६ पुग्ने थियो । यसरी हेर्दा उनलाई गठबन्धनले धोका दिएको थियो । त्यही हविगत अमरेन्द्र यादवको हुने स्थिति देखिएको छ । बिराटनगरका महिला मतदाता उपमेयरमा पुरुषलाई दिने मुडमा नरहेको मत सर्वेक्षणले देखाएको छ ।

पहिलेको निर्वाचनमा एक लाख १३ हजार ७६१ मतदाता रहेकोमा ८० हजार ६८९ जनाले मतदान गरेका थिए । सो निर्वाचनमा ६१ हजार २७० मत सदर भएको थियो भने १९ हजार ४१९ मत बदर भएको थियो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ जना मतदाता छन् । उनीहरुको लागि २९ मतदान स्थल र १४० मतदान केन्द्र तय गरिएको छ ।

मतदान गर्नेलाई ल्याप्चे लगाएर सहीछाप गर्ने प्रणाली हटाउन सकियो भने यसपटक मतपत्र बदरहुने संख्या घटाउन सकिन्छ । होइन भने जनता समाजवादीको मतदाताहरुले हालेको मत पहिलेपनि बढी वदर भएको देखिएकोले यसपटक पनि त्यही क्रम दोहोरिने देखिन्छ । गठबन्धनबाट नेपाली कांग्रेसले नै मेयर पाएको र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेत मेयरमा अर्को विकल्प नभएकोले कांग्रेसका नागेश कोइराला नै जीतको नजिक देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *