चुनावी नतिजाले ओली र यादव नजिकिँदै
काठमाडौं। स्थानीय तह निर्वाचन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचनपछि एमाले ठूलो दल बन्नेमा निश्चिन्त देखिन्थे। व्यक्तिवादी भएको आरोप लाग्ने गरेका ओली एमाले पाँच दलीय गठबन्धनको एक्लै सामना गर्न सक्षम रहेकोमा ढुक्क थिए।
चुनाव अघिका उनका अभिव्यक्तिले पनि त्यसलाई पुष्टि गथ्र्यो। तर चुनावको नजितापछि नेकपा एमाले र त्यसका अध्यक्ष ओली रक्षात्मक बनेका छन्। ०७४ सालको स्थानीय चुनावमा २ सय ९६ पालिका जितेर पहिलो दल बनेको एमाले यो निर्वाचनमा २०५ पालिका जितेर दोस्रो दलमा सीमित भएको छ।
पाँच दलीय गठबन्धन गरेको नेपाली कांग्रेस पहिलो द लबनेको छ भने माओवादी केन्द्रले पनि गठबन्धनबाट राम्रै लाभ लिएको छ। तर गठबन्धनले धोका दिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) भने गुनासो गरिरहेको छ।
गठबन्धनले धोका दिएको ठानेका यादव र मागिखानेबीचको गठबन्धन भन्ने ओलीबीच सहकार्य भयो भने अचम्म नमाने हुन्छ
स्थानीय चुनावको परिणामले एमालेलाई रक्षात्मक बनाइ दिएपछि अब एमाले आगामी दिनमा कसरी अगाडि बढ्छ? यो महत्वपूर्ण विषय हो। कतिपयले अब फेरि बाम गठबन्धन हुने चर्चा गरेका छन् भने कतिपयले एमालेबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग एकता हुने तर्क गरेका छन्।
तर बाम गठबन्धन तत्काल संभव नभएपनि एकीकृत समाजवादीका केही नेता एमालेमा फर्किने तयारी गरिरहेका छन्। एमालेले माधव नेपाल बाहेक अन्य नेतालाई मुलघरमा फर्किन सधैं ढोका खुल्ला रहेको बताउने गरेको छ।
तर त्यो भन्दा अघि आगामी संघीय र प्रदेश निर्वाचनमा आफू अनुकुल नजिता निकाल्न एमालेले वर्तमान गठबन्धनलाई टुटाउनु पर्ने एमालेका कतिपय नेताहरुले बताउने गरेका छन्। पाँच दलीय गठबन्धनसँग एक्लै चुनावमा जाँदा अनुकुल परिणाम नआउने भएकाले एमालेको पहिलो प्राथमिकता गठबन्धन फुटाउनु हुनेछ।
वर्तमान गठबन्धनमा रहेका दलसँग सहकार्य गरेर आगामी चुनावमा जाने एमालेको मुख्य रणनीति हो। एमाले अध्यक्ष ओलीले असार १७ गते गठबन्धन टुट्ने बताएका थिए। ज्योतिषीको भनाइ भन्दै ओलीले १७ असारपछि गठबन्धन टुट्ने बताएका थिए।
चुनावी परिणामबाट रक्षात्मक बनेका ओलीले केही दिन अगाडि सत्ता गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा के कुरा भयो भन्ने विषय सार्वजनिक भइसकेको छैन। ‘उहाँसँग (ओली) हाइ हलो मात्रै भयो,’ जसपा अध्यक्ष उपेन्द्र यादवले डिसी नेपालसँग भने, ‘धेरै केही कुरा भएन उहाँसँग सामान्य हाइ हलो मात्रै भएको हो।’
जसपाले सत्ता गठबन्धनले धोका दिएको भन्दै गुनासो गर्दै आएको छ। विशेष गरी जनकपुर उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका जसपा उम्मेदवार लालकिशोर साह चौथो भए। त्यहाँ स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भए। सत्ता गठबन्धन हुँदासमेत आफ्नो उम्मेदवार चौथो स्थानमा पुगेपछि यादव गठबन्धनप्रति रुष्ट छन्।
गठबन्धनप्रति रुष्ट बनेका यादवसँग ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। त्यसो त ओलीको दोस्रो प्रधानमन्त्री कालमा उपेन्द्र यादवको नेतृत्वमा तत्कालीन संघीय समाजवादी फोरम सरकारमा समेत सहभागी भएको थियो।
त्यो बेला ओलीले तत्कालीन राजपालाई भन्दा समाजवादी फोरमलाई प्राथमिकतामा राखेर सहकार्य गरेका थिए। तर पछि ओली र यादवबीचको सम्बन्धमा दरार आयो र यादवले सरकार छाडे। त्यसपछि ओलीले राजपासँग सत्ता साझेदारी गरेका थिए। स्थानीय तह निर्वाचनमा पनि एमालेले मधेसका कतिपय स्थानीय तहमा गठबन्धनसमेत गरेको छ।
तर लोसपाको पक्षमा चुनावी परिणाम नआएपछि फेरि जसपासँग सहकार्यका लागि एमालेले कसरत गरेको बताइन्छ। ओलीले वर्तमान गठबन्धनले देश विकास गर्ने भन्दा पनि मुलुकको विकास अवरुद्ध पारेको भन्दै आक्रोश पोख्दै आएका छन्। ‘गठबन्धनले धोका दिएको ठानेका यादव र मागिखानेबीचको गठबन्धन भन्ने ओलीबीच सहकार्य भयो भने अचम्म नमाने हुन्छ’, जसपाका एक नेताले भने।







डिसी नेपाल








Facebook Comment