रणजी ट्रफीमा बन्यो प्रथम श्रेणी क्रिकेटको सबैभन्दा ठूलो जितको रेकर्ड, ९२ वर्ष पुरानो रेकर्ड ध्वस्त
काठमाडौं । भारतको रणजी ट्रफीमा प्रथम श्रेणी क्रिकेटको सबैभन्धा ठूलो जितको रेकर्ड बनेको छ । बिहीबार केएससीए मैदान अलुरमा भएको रणजी ट्रफीको क्वार्टरफाइनलमा मुम्बईले उत्तराखण्डलाई ७२५ रनले पराजित गर्दै यो उपलब्धि हासिल गरेको हो ।
यसअघि प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा ठूलो जितको कीर्तिमान न्यु साउथ वेल्सको नाममा थियो । जनवरी १९३० मा सिड्नी क्रिकेट मैदानमा खेलिएको खेलमा न्यू साउथ वेल्सले क्वीन्सल्याण्डलाई ६८५ रनले हराएको थियो।
कप्तान पृथ्वी शा (७२) र यशस्वी जैसवाल (१०३) को उत्कृष्ट प्रदर्शनका कारण मुम्बईले आफ्नो दोस्रो इनिङ २६१/३ मा घोषित गरेको थियो । उत्तराखण्डलाई ७९५ रनको लक्ष्य दिएको थियो। जवाफमा उत्तराखण्डको दोस्रो इनिङ्स ६९ रनमा समेटिएको थियो ।
सुरेश खुराना (२५) र कुणाल चन्देला (२१)ले मात्र दोहोरो अंक पार गर्न सके। मुम्बईका लागि धवल कुलकर्णी, शम्स मुलानी र तनुष कोटियानले तीन–तीन विकेट लिए भने मोहित अवस्थीले चार ओभरमा पाँच रन दिएर एक विकेट लिए ।
फर्स्ट क्लास क्रिकेटमा सबैभन्दा ठूलो जीत (रनले) –
७२५: मुम्बईले उत्तराखण्डलाई हराएको (२०२२)
६८५: न्यू साउथ वेल्सले क्वीन्सल्याण्डलाई हराएको (१९२९/३०)
६७५: इङ्ल्यान्डले अष्ट्रेलियालाई हराएको (१९२८/२९)
६३८: न्यू साउथ वेल्सले साउथ अष्ट्रेलियालाई हराएको (१९२०/२१)
६०९: मुस्लिम कमर्शियल बैंकले पानी तथा विद्युत विकास प्राधिकरणलाई पराजित गरेको (१९७७/७८)
यसअघि मुम्बईले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ६४७ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । पहिलो श्रेणीमा डेब्यु गरेका सुवेद पारकरले २५२ रन बनाए भने सरफराज खानले १५३ रनको योगदान दिए । जवाफमा उत्तराखण्डको सम्पूर्ण टिम पहिलो इनिङ्समा ११४ रनमा अलआउट भएको थियो । मुम्बईका लागि शम्स मुलानीले सर्वाधिक ५ विकेट लिए ।







डिसी नेपाल







Facebook Comment